खाद्यान्न अभावले राउटे जङ्गलबाट फर्किए

धनगढी, वैशाख ८ । सुदूरपश्चिममा प्रदेश सरकारले स्थापना गरेको कोराना भाइरस उपचार तथा नियन्त्रण कोषमा झन्डै एक करोड ५० लाख रुपियाँ थप जम्मा भएको छ । विभिन्न बैङ्क, प्रदेशसभा सदस्यलगायत संस्था र व्यक्तिहरूले सो कोषमा सहयोग रकम जम्मा गरिरहेका छन् । प्रदेश सरकार आफैँले ४० करोड रुपियाँ राखेर कोष स्थापना गरेको थियो ।

यसैबीच विगतमा समेत जङ्गलमै बसेर जीविकोपार्जन गर्ने लोपोन्मुख राजी समुदाय जङ्गलमा खाद्यान्न अभाव भएपछि पुनः आसपासका गाउँमा फर्किएका छन् । उनीहरूलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराउने भएको छ ।

डडेल्धुरा समाचारदाताका अनुसार कन्दमूल खाएर छाक टार्न सहज हुने भन्दै एक साताअघि जङ्गल पसेका डडेल्धुरा परशुराम नगरपालिका–१२ आमपानीका १२ घरधुरीका राउटे परिवार राहत पाउने भएपछि गाउँ फर्किएका हुन् ।

‘लकडाउनका कारण छाक टार्न समस्या भएपछि तरुल र गिठ्ठा खाएर पेट पाल्न गाउँ छाडेर करिब डेढ घण्टाको दूरीमा रहेको राष्ट्रिय जङ्गलमा आएका थियौँ,’ चन्द्रसिंह राउटेले भन्नुभयो, ‘अब नगरपालिकाले राहत दिने भनेपछि शनिबार घर फर्किएका छौँ ।’ बन्दका कारण गाउँमा मजदुरी गर्न नपाउँदा बाँच्न गाह्रो परेको अनिता राउटेले बताउनुभयो ।

परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले जङ्गल पसेका राउटेलाई घर फिर्ता गरेर राहतसमेत उपलब्ध गराएको बताउनुभयो । नगरप्रमुख साउदले भन्नुभयो, ‘राउटेले खाद्यान्न अभावका कारण जङ्गल पस्नुपर्ने अवस्था रहँदैन ।

उनीहरूले गाई, बाख्राका गोठ तथा खोर निर्माणको निहुँमा चुरेक्षेत्रको वन फँडानी गर्दै दर्जन बढी टहरा बनाएका थिए । ती टहरा सबडिभिजन वन कार्यालय जोगबुडा, डङ्सेरा सामुदायिक वनलगायतको टोलीले जलाएको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख सरिता लामाले बताउनुभयो ।

क्वारेन्टाइनमा आएनन्

बैतडी समाचारदाताका अनुसार बैतडीमा भारतलगायतका विभिन्न देशबाट आएका चार हजार २९७ जना क्वारेन्टाइन नआएको बताइएको छ । उनीहरूको अहिलेसम्म स्वास्थ्य परीक्षण पनि हुन सकेको छैन ।

चैत महिनाभरि बैतडीका १० वटा स्थानीय तहमा चार हजार ८२२ जना भित्रिएको जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये क्वारेन्टाइनमा बसेका ५२५ जनाको मात्र स्वास्थ्य परीक्षण भएको छ । चैत महिनामा विदेशबाट आउनेको सङ्ख्या दशरथ चन्द नगरपालिकामा ५३१, पुरचौडी नगरपालिका ३४३, मेलौली नगरपालिका ४४९, पाटन नगरपालिका ४८२, सुर्नया गाउँपालिका ४०५, डिलासैनी गाउँपालिका २५६, दोगडाकेदार गाउँपालिका ४०१, पञ्चेश्वर गाउँपालिका ८९५, सिगास गाउँपालिका १३९ र शिवनाथ गाउँपालिकामा ९१२ जना रहेको छ ।

सिमानामा थप कडाइ

धनगढी समाचारदाताका अनुसार बन्दाबन्दीमा भारतबाट लुकीछिपी हुने घुसपैठ रोक्नका लागि नेपाल–भारत सिमानामा निगरानी बढाइएको छ ।

कैलालीमा १०१ किलोमिटर खुला सिमानालाई पूर्ण रूपमा सिल गरेर कडा निगरानी थालिएको हो । सुरक्षाका लागि कैलालीका सबै नाकासहित अन्य क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सीमा बन्द गरिएपछि भारतबाट फर्किने नेपालीहरू रातिको समय नेपाल प्रवेश गर्ने गरेका थिए ।

सीमा सिल गरिएपछि कसैले पनि आउजाउ गर्न नपाएको कैलालीका सशस्त्र प्रहरी उपरीक्षक कमल तिउसिनाले बताउनुभयो । ‘सेन्ट्रीमा रहेको एक ठाउँको सशस्त्र प्रहरीले अर्को ठाउँको प्रहरीको टाउको देख्नेगरी सिमानामा ८२ वटा पोस्ट स्थापना गरिएको छ,’ उहाँले भन्नुभयो । सीमाक्षेत्रमा निगरानीका लागि झन्डै ५५० जना सशस्त्र प्रहरी खटाइएको छ ।

रामारोशनमा ¥यापिड फोर्स टोली

अछाम समाचारदाताका अनुसार नेपाल सरकारद्वारा जारी लकडाउनको पूर्णपालना गराउन अछामको रामारोशन गाउँपालिकाले ‘¥यापिड फोर्स’ टोली गठन गरेको छ । टोलीले लकडाउनको अवज्ञा गरेको फेलापारेमा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्ने बताइएको छ ।

टोलीले गाउँपालिकामा रहेका बजार र गाउँघरमा घुमेर कोरोना भाइरसको अवस्थाबारेमा जानकारी लिँदै सजगता अपनाउने र उल्लङ्घन गरे कारबाहीका लागि सिफारिस गर्ने गाउँपालिकाका एमआईएस अपरेटर दलबहादुर साउदले जानकारी दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ।