विदेशमा कोरोना भाइरसले २८ नेपालीको मृत्यु,ज्यान गुमाउने कुन देशमा कति ?

सांकेतिक तस्विर

काठमाडौं, बैशाख ८ । महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोबिड–१९) बाट नेपालमा अहिलेसम्म कसैको मृत्यु भएको छैन। तर विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीमध्ये ३० जनाले भने कोरोनाकै कारण ज्यान गुमाएका छन्।

 

गैरआवासीय नेपाली संघले तयार पारेको शनिबार बेलुकीसम्मको तथ्यांकअनुसार विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या २८ पुगेको छ। संघले बेलायतमा १७, अमेरिकामा ८, युएईमा २ र आयरल्यान्डमा एकजनाको ज्यान गएको जनाएको छ। यसबाहेक आइतबार बेलुकीसम्म अमेरिकाको न्युयोर्कमा थप दुईजना नेपालीको कोरोनाकै कारण मृत्य भएको पहिचान भएको छ। यसरी कोरोनाबाट मृत्यु हुने नेपालीको कुल संख्या ३० पुगेको छ।

 

हाल अमेरिकामा बस्ने सञ्चारकर्मी मधुकर अधिकारीले अमेरिकामा थप दुईजना नेपालीको कोरोनाका कारण ज्यान गएको जानकारी दिए। आइतबार नागरिकसँग टेलिफोनमा अधिकारीले अमेरिकामा अहिलेसम्म १० जना नेपालीको ज्यान गएको बताए। उनका अनुसार न्युयोर्कको एल्मरुट अस्पतालले ७२ वर्षीय इन्द्रबहादुर राईको मृत्यु भएको जानकारी दिएपछि मृतकको संख्या १० पुगेको हो। त्यसबाहेक अमेरिकामा मृत्यु हुने नेपालीमा महेश अमात्य, पवन मल्ल, सोनाम लामा, अनिल लिम्बु, अजेय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा र थोक्मे बिष्ट रहेका छन्। अधिकारीले शुक्रबार मृत्यु भएका अर्का एक नेपालीको नाम भने उनीहरुका परिवारले स्वीकृति नदिएका कारण सार्वजनिक नगरिएको बताए। नागरिक दैनिकमा खबर छ।