आपसी सहयोग,सद्भाव र सहिष्णुताको संदेश दिनुपर्ने वेला प्रधानमन्त्री नै निकृष्ट भ्रष्टाचारको बचाउमा

बद्रीप्रसाद पाण्डे

 

 पूरा विश्वसँगै हाम्रो देश नेपाल कोरोना भाइरस (काेभिड १९ )को महामारीले आक्रान्त भएको बेला देशको प्रधानमन्त्रीले जसरी रचनात्मक सहयोग गरिरहेको प्रतिपक्ष, आफ्नो योग्यता विज्ञता मार्फत योगदान दिइरहेको वुद्धिजीविवर्ग, जोखिम मोलेर पनि सही सूचना प्रवाह गर्न उद्धत सञ्चार जगत र सिमानामा छट्पटिएर उद्धार को पर्खाईमा बसेका नेपाली नागरिकलाई समेत ‘कर्कस स्वर’ मा आलोचित गर्नुभएको विषय खेदजनक छ।

 

सरकारी सञ्चार माध्यमहरूलाई दिनुभएको अन्तर्वार्तामा देशको अभिभावक बनेर सबैको साथ र सहयोग लिने योग्यता राख्नुपर्ने,संकटको वेला आपसी सहयोग, सद्भाव र सहिष्णुताको संदेश सञ्चार गर्नुपर्ने प्रधानमन्त्री नै सरकारले गरेको निकृष्ट भ्रष्टाचारको बचाउमा यति तल्लो स्तरमा ओर्लेर आफू र आफ्ना केही भारदार बाहेक सबैलाई दोषी करार गर्ने दुष्प्रयासले निराशा बढाएको छ।

 

प्रधानमन्त्रीलाई लकडाउन बाहेक स्वास्थ्य उपकरण खरिद, परीक्षणको दायरा व्यापक रुपमा विस्तार, राहत र उद्धारको प्रभावकारी व्यवस्थापन लगायतका आधारभूत कामहरू सरकारबाट योग्यता र इमानदारितापूर्वक हुन नसेको महसुस नहुनु र ‘सबै ठिकठाक छ’ भन्ने भ्रम हुनु वा भ्रम पार्न खोज्नु दुबै कुराले सरकारको गन्तव्य ठिक दिशामा छैन भन्ने गम्भीर आशङ्का उब्जिएको छ।

 

सम्माननीय प्रधानमन्त्रीलाई तन्द्राबाट व्युझिन, २७ महिना पहिले बनेको दुई तिहाइ सरकारबाट केही राम्रो होला कि भन्ने आशाबाट जनता पहिले नै निराश भैसके अब पनि भ्रम छर्न सकिन्छ कि भन्ने लोभबाट मुक्त हुन र सिंगै मानव सभ्यता संकटको संघारमा उभिएको बेला जस अपजसको छुद्र राजनीति हैन सबैलाई साथमा लिएर महा संकटको सामना गर्ने वातावरण कम्तीमा त्यो ठाउँमा बसेर नबिथोल्नुहोस् विनम्रतापूर्वक आग्रह छ।

बद्रीप्रसाद पाण्डे नेपाली काँग्रेसका केन्द्रिय सदस्य हुनुहुन्छ ! हामीलाइ याे लेख अहिलेकाे अवस्था हेर्दा समसामयिक सान्दर्भिक लागेर उहाँकाे फेस्बुकबाट साभार गरिएकाे हाे।