औषधि सेवन गर्न नपाएका बिरामीलाई गाउँपालिकाले निःशुल्क उपलब्ध गराउने

खोटाङ, वैशाख ९ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका विभिन्न प्रकृतिका बिरामीलाई उनीहरुको घरैमा लगेर निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । लकडाउनका कारण औषधि लिन जान नपाउँदा समस्यामा परेका ३०८ बिरामीलाई गाउँपालिकाले आफैँ औषधि खरिद गरेर उनीहरुको घरैमा लगेर निःशुल्क उपलब्ध गराउने भएको हो ।

 

उच्च रक्तचाप, मधुमेह, दम, बाथ, मुटुरोग, ग्याष्ट्रिक, अल्सर, पिसाब पोल्नेलगायतका समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई गाउँपालिकाको तर्फबाट औषधि ल्याएर निःशुल्क प्रदान गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “लामो समयको लकडाउनका कारण अधिकांश बिरामीको औषधि सकिन लागेकाले १५-१५ दिन पुग्ने औषधि निःशुल्क ल्याइदिन लागिएको छ”, उहाँले भन्नुभयो, “स्थानीय स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकामार्फत सिफारिस भएर आएको बिरामी तथा औषधिको नाम र मात्राका आधारमा सोमबार नै औषधि खरिद गर्नका लागि कर्मचारीलाई पठाइएको छ ।

 

जिल्लाको दक्षिण क्षेत्रमा पर्ने सो गाउँपालिकाको वडा नं १ याम्खामा ८०, वडा नं २ डाँडागाउँमा ३३, वडा नं ३ छोरम्बुमा ११, वडा नं ४ बतासेमा ६७, वडा नं ५ सछितापोखरीमा ३७, वडा नं ६ छितापोखरीमा २५ र वडा नं ७ टेम्मामा ५५ बिरामीले नियमित औषधि सेवन गरिरहेका छन् । लकडाउनका कारण बाहिरी जिल्लाबाट औषधि ल्याएर सेवन गर्न नपाएका सर्वसाधारणलाई गाउँपालिकाले ल्याएर निःशुल्क उपलब्ध गराउने भएपछि बिरामी हर्षित भएका छन् ।

 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैको ध्यान केन्द्रित भइरहेको अवस्थामा सो गाउँपालिकाले रुघाखोकी, झाडापखाला, ज्वरोलगायतका मौसमी महामारी फैलिने खतरा पनि उत्तिकै भएको भन्दै स्वास्थ्य संस्थालाई ? पाँच÷पाँच लाख मूल्य बराबरको जगेडा औषधि खरिद गरेर प्रदान गरेको थियो । जिल्लाका अधिकांश स्थानीय तहका स्थानीय बासिन्दा लामो समयको लकडाउनका कारण नियमित सेवन गर्दै आएको औषधि सकिएपछि ल्याउन नपाँदा अहिले समस्यामा परेका छन् । रासस