स्वास्थ्य सामग्री खरिद गर्न चिनियाँ कम्पनीसँग सम्झौता

काठमाडौं, वैशाख १० । जंगीअड्डाले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। नेपाली सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलब ३५ अमेरिकी डलर बराबरको (२ अर्ब २० करोड रुपैयाँ बढी) स्वास्थ्य सामग्री खरिद गर्न चिनियाँ कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’ सँग सम्झौता गरेको हो।

 

सम्झौता पत्रमा चीनको वाणिज्य मन्त्रालयका अधिकारी र नेपाली सेनाको तर्फबाट संभाररथीले हस्ताक्षर गरेका छन्। सम्झौता भए बमोजिम जंगी अड्डाले चिनियाँ सरकारी कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’ लाई उक्त रकम अग्रिम भुक्तानी गरिसकेको छ। बढीमा १० दिन भित्रमा अत्यावश्यक सामाग्रीहरु नेपाल आइसक्ने छ।

 

विश्वका ८० वटा मुलुकले उक्त कम्पनीबाट स्वास्थ्य सामग्री खरिद गरिसकेका छन्। नेपाल उक्त कम्पनीको ८१ आंै नम्बरमा छ। चिनियाँ कम्पनीले रकम प्राप्त गरेको जवाफ समेत जंगी अड्डालाई दिइसेकेका छ।

 

जंगी अड्डाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत चीन र भारतबाट स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय गरेको थियो। औषधि खरिदका लागि भारतसँगको प्रक्रिया भने टुंगिने क्रममा छ। नेपाली सेनाले भारतसँग औषधि खरिदबारे छलफल भइरहेको जनाएको छ।

 

भारतबाट ५३ प्रकारका औषधिहरु ल्याउने तय भएको छ। यद्यपी भारतसँग औषसधि खरिदबारे सम्झौता भइसकेको छैन।

सरकारले अन्य माध्यमबाट ल्याउन ढिलाइ हुने देखेपछि सेनालाई यो कामको जिम्मेवारी दिएको थियो। भारतबाट ल्याइने औषधिका बारेमा समेत केही दिन भित्रै टुंगो लाग्ने नेपाली सेनाले जनाएको छ।

 

नेपाली सेनाले वैशाख ७ गते चिनियाँ कम्पनीलाई रकम भुक्तानी गरे लगत्तै औषधि खरिद सम्झौता गरेको थियो। रकम पाइसकेपछि सातदिन भित्रमा चीनको ग्वान्झाउमा ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याइदिने सम्बन्धित कम्पनीले नेपाली सेनालाई जानकारी दिएको छ। अन्नपूर्ण पोष्टमा खबर छ।