संस्मरण कथा( च्याम्सीको कहर)

 -विष्णु विकिरण

च्याम्सीदिदी टोलाउन थालिन् कहिले सकिएला यो लकडाउन।लकडाउन चलेदेखि च्याम्सी दिदीको दिमागै लकडाउन भइरहेथ्यो।हुन पनि किन नहोस् लकडाउन सधैं अफिसमा गएर काम गर्ने बानी।न कोठामा काम छ न समय कटाउनै सजिलो छ । सानो बच्चा परदेशी श्रीमान केजाती कोराना सोरोना भन्ने रोगले उता मरे भने।अहिले संसारका मानिसमा यसले त्रास दिइरहेछ ।न देखिन्छ यसलाई न यसको उपचारै छ भन्छन् लाग्यो कि त मर्यो ।

 

गाउँघरतिर भूत पिशाच लाग्यो भने धामीले देखेर उपचार लगाउथे ।यस्लाई त न धामी लाग्छ न डाक्टर न वैद्यले नै ठिक गर्छ। लाग्छ यो रोग त प्राकृति रोग हो प्रकृतिको विनास गर्ने मानिसलाई प्रकृतिले नास गर्दै छ।त्यसो त मानवले चाह्यो भने प्रकृति लाई संरक्षण वा विनास गर्न सकिहाल्छनी ।यस्तै कुरा उनको मनमा खेलिरहे थ्यो ।सपना पनि आजकल राम्रो देखिएको छैन् ।०७२ सालमा भूकम्प जानुअघि आकाशबाट तातोपानी वर्षा भएको देखिएको थ्यो ।

नभन्दै सबै नेपालीलाई दु:खले पोल्यो । ०७६ मा पनि आकाश अन्धकार थियो ।बादल बेस्सरी मडारिएको थियो धर्ती दिउँसै कालो भएर आयो मानिसहरु ला अब आकाशमा के भयो भनेर कहालिदै घरभित्र पसिरहेछन्।च्याम्सी दिदी झल्यास्स ब्युझिइन्।हैट! कस्तो खराब सपना मरिन्छ कि क्या हो उठेर अखोराबाट पानी घटघट्याइन्। केही दिन पछि उनको श्रीमानको पेटको अपरेसन भयो।विदेशमा काम गर्ने अफिस बन्द भएर उनी घर फर्कदै थिए।

विदेशबाट नेपाल फर्कने हवाईमार्ग बन्द गरिएकाले त्यो सम्भव थिएन् । उनलाई होम क्वारेन्टाइनमा बस्नुको विकल्प थिएन्। च्याम्सी दिदीले टिभी खोलिन्।समाचार बज्यो- घरबेटीले भाडा छुट गर्नुपर्ने, सरकारले राहात वितरण गर्ने जनता भोकले मर्दैनन्,स्कुलले एक महिनाको शुक्ल छुट गर्ने आदि ।कुरा गर्न सजिलो छ व्यवहारमा त्यति सजिलै कहाँ लागू हुन्छ र । भूकम्पमा सरकारले राहात देला खाउँला भन्दा भन्दै कतिका घरबार नै उडेथ्यो। अहिले पनि राहातको नाममा राजनीति बाहेक के होला र तिन महिना लकडाउन हुन्छ जस्तो छ जाबो ५/१० किलो चामलले कति समय टिक्ला र।

बरु राहात भन्दा बन्द अफिसले आफ्नो कर्मचारीलाई तलब अनिवार्य खुवाउने नियम लगाइदिएको भए त्यही पैसाले किने खाइन्थ्यो नी।सरकारी कोषमा भएको भूकम्पको रकम खर्चिने नसक्ने सरकारले लकडाउन पछि अहिलेको कोष खर्च गिसक्ला त ? रकम त बेस्सरी जम्मा भएको सुनिन्छ ।हुन त एउटा साधारण किसान मजदुर दिमागमा यस्तो कुरा आउनु राम्रो होइन्।

केही दिन अघि प्रधान मन्त्रीको भाषणमा-सरकारलाई थाहा छैन्, सिडिओलाई थाहा छैन् कसरी पत्रकारलाई थाहा भएको अगाडि नै कुरा भनिएको थियो।त्यसो त काठमाडौं बाहिर जाने गाडी खुल्यो रे दुई दिनको लागि भन्ने समाचारको निर्णय दुई घन्टा टिकाउन नसक्ने सरकार भनेर पनि फेसबुक तिर बेस्सरी लेखिएको थियो।बटुवा पीडा र मजदुरका समस्यालाई उठाइएको थियो। च्याम्सी दिदी बच्चा पढाउने स्कुलमा पढाउँथिन्।महिनाको आठ हजार तलब आउँथ्यो।तर,लकडाउन भएपछि तिनको तलब स्कुलकै खातामा थियो।कोठामा सामल सकिएथ्यो ।

घरबेटीले भाडा मागिरहेथे।उधारो दिने पसलहरु सब बन्द थिए।पैसा नभएपछि काठमाडौंमा टिक्न कति कठिन छ । के थाहा जो भोग्छ उसलाई मात्र पीडा थाहा हुन्छ।स्कुलबाट एक्कासी उनको फोन आयो।जुम क्लास चलाउने एप्स डाउनलोड गर्नु है भोलि बिहान हजुरको ७ देखि ८ बजेसम्म छ। उत्तरमा हवस् भन्नको विकल्प थिएन।केहीबेर अघिमात्र अर्को स्कुलको सरले तलब त एकाउन्ट नभएर ढिलो भएको हो।

अझै ढिलो भयो भने असार पुग्छ होला भनेका थिए।आफूले फागुन महिना देखि तलब लिइएको छैन्। सबभन्दा टिक्न गाह्रो शिक्षण पेशा अपनाउनेलाई हो किनकि नचाहिने कुरा त पढाउनु भएन। सज्जन कुरा सिकाउने सोझा हुन्छन् सोझासाझा टिक्न धेरै गाह्रो छ काठमाडौंमा ।यस्तै कुरा मनमा खेलिरहेका च्याम्सी दिदीका।कोठामा बच्चा खेलिरहेको थियो ।बच्चाको उफ्राईनचाईले उनको नाना तरहका विचार खेलीरहेको मन बच्चाको खेल हेरेर बिर्सने प्रयत्नमा थिए ।कहिले भाग्छ कोरोना,कहिले खुल्छ लकडाउन, कहिले लाग्छ स्कुल,कहिले आउँछ तलब र कहिलेसमस्या समाधान र मनमा शान्ति उफ!