आज अक्षय तृतीया

काठमाडौँ, वैशाख १४ । कोरोना भाइरस (कोभिड–१९)को बन्दाबन्दीमा अक्षय तृतीया पनि प्रभावित हुने भएको छ । वैशाख शुक्ल तृतीयाका दिन आइतबार भुटेको जौको पीठो (सातु) र सक्खर पानीको सर्वत पिएर अक्षय तृतीया पर्व मनाइँदैछ ।

 

वैद्यराज सुवर्ण वैद्यका अनुसार सातुले पूर्ण रूपमा पौष्टिकता प्रदान गर्ने र गर्मीमा सर्वतले शीतलता प्रदान गर्दै शरीरमा ऊर्जा दिन्छ । यो पटक अधिकांश सर्वसाधारणलाई सातु पाउन सजिलो हुनेछैन । गर्मीयामभरि नै सातु सर्वत खानु राम्रो हुन्छ तर मधुमेहका रोगीले भने यो खान नहुने वैद्यको सुझाव छ । सोमसरला वेद विद्याश्रमका प्रमुख योग प्रशिक्षक केशवप्रसाद अधिकारीका अनुसार योग, ध्यान, न्यास गर्ने सात्विकले सातु सर्वत खाँदा निकै राम्रो हुन्छ ।

 

सनातन प्रचलनअनुसार माघमा घिउ चाकु, साउनमा कर्कलो, सक्खरखण्ड पिँडालु, असारमा खीर, दही च्यूरा जस्ता पर्व मनाई खाइने यी पदार्थले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नाले यस्ता भोजन खाने पर्व मनाइएको अधिकारीले बताउनुभयो ।

 

यो दिन महादेव र पार्वतीको विवाह भएको पावन दिनका रूपमा लिइन्छ । साधुसन्त, ब्राह्मण, दीनदुःखीलाई गरिएको दान र शुभकार्य क्षय हुन्न भनिन्छ । कोरोना प्रभावको बन्दाबन्दीले गर्दा दाताले यो दिन सातु सर्वत भोजन गराउन राखिएका गुठीबाट सातु सर्वत वितरण नहुने भएको छ ।

 

पशुपति गुठी गोश्वारा कार्यालयले पशुपति परिसरमा र गुठी संस्थानले राजगुठी अन्तर्गतका मुलुकका सबै देवस्थलमा सातु सर्वत वितरण गर्दै आएको थियो ।

 

पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीले मानिसको जमघट गराउन नहुने भएकाले सातु सर्वत वितरण हुन नसक्ने बताउनुभयो ।

 

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा। घनश्याम खतिवडाले यो दिन कोषको स्थापना दिवस परेको भए पनि वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।