नेकपामा ध्रुवीकरण तीव्र :ओली अल्पमतमा

काठमाडौं,बैशाख १५।सत्तारुढ नेकपाभित्र विवाद बढ्दै जाँदा गुटगत जोडघटाउ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटी बैठक बोलाउन दबाब बढाएसँगै नेताहरुले गुटगत जोडघटाउ थालेका हुन्।

 

पार्टीभित्र पूर्वएमाले, पूर्वमाओवादी केन्द्र र तिनका नेतापिच्छेकै गुट रहेकाले आन्तरिक समीकरणका लागि जोडघटाउ सुरु भएको हो। पूर्वएमाले र पूर्वमाओवादीबाट स्थायी कमिटीमा प्रतिनिधित्व गर्नेलाई आफ्नो पक्षमा पार्न शीर्ष नेताहरु लागिपरेका छन्। नेकपाका अध्यक्षसमेत रहेका ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालका आ–आफ्नै गुट छन्।

 

त्यसभित्र पनि वामदेव गौतम, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठका फरकफरक गुट छन्। स्थायी कमिटीभित्र दाहाल र नेपाल समूहमा झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, मणि थापा, मुकुन्द न्यौपाने गरी ३४ जना देखिएका छन्।

नेकपाभित्र बदलिएको समीकरण हेर्दा अहिले स्थायी कमिटीमा ओली स्वतः अल्पमतमा पर्ने अवस्था देखिएको छ।

त्यसैगरी स्थायी कमिटीमा ओली समूहमा ईश्वर पोखरेल, सुवास नेम्बाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ,। सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल गरी १० जना छन्। रामबहादुर थापा र विष्णु पौडेललाई भने तीनै नेताले कुनै पनि समूहमा राखेका छैनन्। स्थायी कमिटीमा थापातर्फबाट देव गुरुङ, पम्फा भुसाल, मात्रिका यादव देखिए पनि यादवलाई दाहालले आफ्नो समूहभित्र पारिसकेका छन्। दाहाल र यादवबीच केही दिनअघि छुट्टै भेटघाट भएको थियो।

 

नेकपाभित्र बदलिएको समीकरण हेर्दा अहिले स्थायी कमिटीमा ओली स्वतः अल्पमतमा पर्ने अवस्था देखिएको छ। प्रधानमन्त्री निवास बालुवाटार निकट स्रोतका अनुसार ओलीले सोमबार सचिवालय बैठक बोलाउँदै छन्। ‘नेताहरु आन्तरिक जोडघटाउमा लागेको थाहा पाएपछि उहाँले सचिवालय बैठक बोलाउने तयारी गर्नुभएको छ’, बालुवाटार निकट स्रोतले भन्यो। वरिष्ठ नेता नेपाल निकट रहेका युवराज ज्ञवालीका अनुसार पछिल्लो परिस्थितिका कारण तत्काल स्थायी कमिटीको बैठक माग गरिएको हो। ‘पार्टीभित्र छलफल गर्नुपर्ने धेरै विषय छन् सरकार र पार्टीको सम्बन्धको विषयमा धेरै कुरा बाहिर आएका छन्, जसमा पार्टी नेताहरु क्लियर हुनुपर्छ’, उनले भने।

 

ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष दुईमध्ये एक पद छाड्न दबाब दिने तयारी भैरहेको अवस्थामा ओली समूह पनि त्यसको प्रतिरक्षामा उभिने तयारीमा छ। राजनीतिक दलसम्बन्धी कानुन संशोधन अध्यादेश प्रकरणले पार्टीभित्र अन्तरविरोध तीव्र भएपछि कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले पार्टी ओललिाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाडेर सहजीकरण गर्न दबाब दिने भएका हुन्।

 

नेकपाको आन्तरिक समीकरणमा उत्तरचढाबको संकेत पाएसँगै विभिन्न गुटका बैठक पनि तीव्र हुन थालेका छन्। स्थायी कमिटी बैठक बोलाउने र त्यसमा आफूहरुको रणनीति के हुने भन्नेबारे छलफल सुरु भएको छ। स्रोतका अनुसार ओलीलाई सरकारबाट फिर्ता बेलाउने कि राखिराख्ने निर्णय पनि स्थायी कमिटी बैठकले गर्नेछ।

 

स्रोतका अनुसार आन्तरिक छलफलका लागि दाहालले आफ्नै निवास खुमलटार, ओलीले बालुवाटार, नेपाल समूहले कोटेश्वरमा बैठक गरिरहेका छन्। कोटेश्वरमा आइतबार दिउँसो नेपाल निकटका धेरैजसो नेता सहभागी भएर छलफल गरे। छलफलमा उनीहरुले सचिवालयका नेताहरुलाई खुट्टा नकमाउन सुझाव दिएका थिए। सचिवालयका नेताले खुट्टा कमाए स्थायी कमिटी बैठक बस्न नसक्ने उनीहरूको तर्क थियो। भेलामा पछिल्लो राजनीतिक परिस्थिति र ओलीको राजनीतिक चालबाजीको विषयमा पनि गम्भीर छलफल भयो।

 

नेपाल समूहका नेता रघुजी पन्तले छिटै स्थायी कमिटी बैठक बस्ने बताए। ‘पार्टीभित्र र सरकारमा उत्पन्न समस्याबारे छलफल गर्ने थलो स्थायी कमिटी बैठक हो, सरकारले गरेका काम र पार्टीको सम्बन्धबारे छलफल गर्ने स्थल पनि स्थायी कमिटी बैठक नै हो। बालुवाटारले चाहँदा सांसदहरुको बैठक बालुवाटारमै भएको थियो। अब बहानाबाजी गरेर टार्ने अवस्था छैन। बैठक तुरुन्तै राख्न नेताहरुलाई सुझाव दिएका छौ’, पन्तले भने।

 

बालुवाटार बैठकमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्बाङ, विष्णु रिमाल, शंकर पोखरेल प्रदीप ज्ञवालीलगायत नेता सहभागी हुने गरेका छन्। ५ नम्बर प्रदेशका मुख्यमन्त्री समेत रहेका शंकर केही दिनदेखि काठमाडौंमै छन्।

 

गत बुधबार स्थायी कमिटी बैठक माग गर्दै २० जनाले हस्ताक्षर बुझाएका थिए। बैठक माग गर्नेमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीम रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, सुरेन्द्र पाण्डे, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडल, पम्फा भुसाल, मणि थापा, मात्रिका यादव, लिलामणि पोखरेल र हरिबोल गजुरेल छन्। नेकपा विधानमा जुनसुकै कमिटीमा पनि एकतिहाई सदस्यले माग गरे बैठक बोलाउनुपर्ने व्यवस्था छ। तर अध्यक्ष ओली तत्काल बैठक नबोलाउने पक्षमा छन्। ‘बैठक डाक्न माग भएको छ। छिटै समस्या निरुपण गर्नेछांै। जे हुन्छ बैठकमै हुन्छ’, दाहाल निकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने।

स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार बैठक बोलाउन माग गरिए पनि सुनुवाइ भएको छैन। ‘हामीले बैठक बोलाउन माग गरेका छौं। यसमा जोडघटाउ भन्ने कुरा छैन। हामीले पार्टी विधिसम्मत ढंगले चल्नुपर्छ। यसमा शीर्ष नेताहरुले ध्यान दिनुस् मात्रै भनेको हो’, उनले भने।नागरिक दैनिकबाट,