सरकारी वकिल कार्यालयले लिएन सर्वेन्द्र खनाल,महेश बस्नेतविरूद्ध अपहरण जाहेरी

काठमाडौं,वैशाख,१६ ।जनता समाजवादी पार्टी (जसपा) का नेताहरु सरकारी वकिलको कार्यालय,काठमाडौं पुगेका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

 

महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । तर दुई घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयले दर्ता गर्न मानेनन् ।

बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा.यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको उनले बताएका छन् ।

 

समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी समेत गरेका छन् ।

 

महोत्तरीबाट काठमाडौं ल्याएको भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए ।