कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य

कोहलपुर, वैशाख २४ । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुलाई वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ ।

बाँकेमा पहिलोपटक एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले पिसिआर पद्धतिबाट परीक्षण शुरु गरेपछि आइतबार १६ र मंगलबार थप सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । पहिलो पटक भेटिएका संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा एकै वडाका २२ जनामा संक्रमण भेटिएको थियो ।

५६ जनाको स्वाब सङ्कलन

नेपालगञ्जमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ५६ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्क्रमितको सूचनाका आधारमा उनीहरुको सम्पर्कमा रहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का पाँच स्थानबाट गए रातिसम्म तिनको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

खजुरास्थित कोरोना आइसोलेशन अस्पतालमा राखिएका सङ्क्रमितले भनेअनुसार उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाव लिइएको हो । स्वास्थ्यकर्मीले गए राति अबेरसम्म बसेर कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेका हुन् ।

राति अबेर भएपछि ससाना बालबालिका घर गएका थिए । बाँकी १५ जनाको आज स्वाब सङ्कलन गरिने श्रेष्ठले जानकारी दिनुभयो । नेपालगञ्ज– ८ को जोलाहनपुरुवा टोलबाट २२ सङ्क्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा रहेका आसपासका टोलमा समुदायस्तरबाट स्वाब सङ्कलन शुरु गरिएको हो । गए राति सङ्कलित स्वाब आज परीक्षण गरिने छ ।

यही वैशाख १९ गते ६० वर्षीय एक जनामा सङ्क्रमण देखिएपछि उनको सम्पर्कमा रहेका ९४ जनाको परीक्षण गर्दा २२ सङ्क्रमित फेला परेका थिए । अहिले २३ जनाको सम्पर्कमा रहेका व्यक्तिको खोजी गर्दै स्वाब लिने काम भइरहेको फोकल पर्सन श्रेष्ठको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्ठन र प्रदेशको सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा स्वाब सङ्कलन शुरु गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच पहिलोपटक कोरोना भाइरस पोजेटिभ भेटिएका नेपालगञ्ज–७ का ६० वर्षीय पुरुषको घरपरिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई पछ्याउँदै परिवारका सदस्य, उनले पढाएका बालबालिका र सम्पर्कमा आएका ९४ जनाको स्वाब सङ्कलन गरिएकामा २२ जनामा कोरोना पोजेटिभ पुष्टि हुँदा घरपरिवारका सदस्यको नतिजा भने नेगेटिभ आएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो ।

सङ्क्रमितका श्रीमती, बुहारीसहित चार दाजुभाइको रिपोर्ट नेगेटिभ आएको हो । परिवारको रिपोर्ट नेगेटिभ आएपछि टोलबासीले उनीहरुलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

गत शुक्रबार ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उनको परिवारलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइमा राखिएको थियो । मेसु थापाका अनुसार आठ घरका २३ जनामा कोरोना संक्रमण फैलिएको छ । पहिलो सङ्क्रमितबाटै कोरोना फैलिएको हो वा अरु सङ्क्रमित पहिलो थियो भन्नेबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको डा थापाको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ।