महिला हिंसा महिलाको मात्रै सरोकारको विषय हो त ?

विद्या तिमिल्सिना

समयले निकै कोल्टे फेरिसकेको छ ! मान्छे धर्तीका सबै कुरा छोडेर अन्तरीक्षको खोज गर्दै अन्य ग्रहमा बसोबास गर्न सकिने अवस्थामा तल्लीन रहेको छ । तर पनि महिलालाई हेर्ने दृष्टिकोणमा खासै फरक आएको छैन । चाहे सबैभन्दा शिक्षित ठानिएको अमेरिका होस् या हाम्रो जस्तो विकासोन्मुख मुलूक नेपाल नै किन  नहोस् । २१ औं शताब्दीको वर्तमान समयमा विश्वका कयौं मुलुकले महिलालाई पुरूष सरह विकास निर्माणका मुलधारमा समाहित गरेका भए पनि महिला भएकै कारणले जिम्मेवारी तहमा रहँदा सहकर्मी पुरुषहरूको मानसिकतामा फरक नदेखिएको कुरा गर्ने गरेका छन् । अमेरिकाको चुनावमा पपूलर भोटिङ हिलारी क्लिन्टनको पक्षमा देखिएपनि डोनाल्ट ट्रमबाट पराजित हुनुपरेको थियो ।

 

त्यसको असर महिला भएकै कारण कार्यकारी पद अमेरिकि जनताले पत्याइ नसकेको चर्चा त्यतिबेला छ्याप्छ्याप्ती समाचार बनेका थिए । विशेष गरि सामाजिक मूल्यमान्यता परम्परागत कुसंस्कार भेदभावपूर्ण कानून र पृतिसत्तात्मक संरचनाबाट प्रेरित भई बनेको मानसिकता र सोचको फलस्वरूप नै समाजमा दैनिक रूपमा महिला माथी हुने हिंसाले ठूलो स्थान ओगट्न सफल भई मानव भएर पनि मानवले पाउनु पर्ने आवश्यकता चाहाना र भावनालाई दमित पारि जिउन बाध्य हुनुपरेको छ ।

महिला हिंसा के हो भन्ने सवालमा बेइजिङ्मा सम्पन्न भएको चौंथो विश्व महिला सम्मेलन १९९५ को घोषणापत्रले ‘हत्या र अप्रत्यक्ष शारीरिक हानी नोक्सानी मात्र हिंसा होइन स्त्रीको आत्मसम्मान, स्व-पहिचान र स्वाभिमान विरूद्ध हुने शारीरिक मानसिक यौनगत एवम् सामाजिक अवहेलनाका कुनै पनि कुराहरू हिंसा हुन्, जसमा बोलिचन र व्यबहारद्वारा अरूको तन र मनमा चोट पुर्‍याउने र आघात पार्ने काम हुन्छ !’ बेइजिङ सम्मेलनले हिंसालाई ठोस र व्याबहारिक रूपमा परिभाषित गरेको छ ।

महिला हिंसा घरपरिवार देखि सार्वजनिक स्थलसम्म हुने गरेको देखिन्छ । हिंसाले विश्वमा भयावहको रूप लिइरहेको छ । त्यो शारीरिक, मानसिक, आर्थिक, सामाजिक, यौनिक, प्रथा एवम् परम्पराजनित होस् या कुनै अन्य कारण देखाएर होस् । घटना एकदम निन्दनीय छन् । विश्वलाई नै हेर्ने हो भने विभिन्न प्रतिबेदनका आंकडालाई हेर्दा विश्वमा दैनिक ५ सेकेन्डमा १ जना महिलाले आफ्नो श्रीमानबाट कुटाइ खाएकी हुन्छन् । ब्राजिलमा मात्रै प्रत्येक ४ मिनेटमा एउटिले कुटाइ खान्छिन भने कम्बोडियामा श्रीमानबाट श्रीमतीलाई शारीरिक धेरै यातना दिएको पाइन्छ । धेरै कुटाइ खाने ल्याटिन अमेरिकि मुलुक मानिन्छन् । बङ्गलादेशमा ४७ प्रतिशत महिलाहरूले आफन्तबाट शारीरिक हिंसा भोग्दछन् । अफगानिस्तानमा जबर्जस्ति बिबाह, अपहरण, बलात्कार जस्ता घटना दोहोरिहन्छन् ।

 

नेपाल र भारतमा समान प्रकृतिका बालविवाह, दाईजो, बोक्सि, छुवाछूत जस्ता घटनाहरू केही न केही  दिनानुदिन समाचार बनिरहन्छन् । दक्षिण अफ्रिकामा प्रत्येक ९० सेकेन्डमा एउटि महिला बलात्कृत हुन्छिन् भने समृद्ध र शिक्षित भनिएको अमेरिकामा प्रत्येक दिन १६०० जना महिला बलात्कार हुने गर्दा रहेछन् त्यो पनि आफ्नै घरबाट । दक्षिण एसियामा मात्रै पनि ५० प्रतिशत महिला कुनै न कुनै समयमा हिंसामा परेकै हुन्छन् भन्ने कुरा तथ्याङ्कले देखाएका छन् ।

 

तसर्थ विश्वका शिक्षित र अशिक्षित जुनसुकै मुलुकमा महिला हिंसा अत्याधिक हुने गर्दछन् केवल  हिंसाका स्वरूप मात्रै फरक देखिएका छन् । परम्पराका रूपमा मूल्यमान्यता, रितिरिवाज, आचारविचार चालचलनका कारणले पनि मानसिक पिडा र हैरानी दिएका हुन्छन् । छुवाछूत,छाउपडी, कुमारी, देउकी, झुमा, कमलरी, वा पर्दा जस्ता विश्वासले व्यक्तिलाई मानवोचित जीवन निर्वाह गर्ने नैसर्गिक अधिकारबाट वञ्चित मात्र गराउने होइन कि उसलाई सधै हेय र अपहेलनामा रहेर बाँच्न विवश बनाइ दिएका छन् । शारीरिक हिंसाका रूपमा त अझ झन् पत्यार नलाग्दो तवरले घटना भइरहेका हुन्छन् ।

 

लोग्ने मान्छेले मन पराएकै भरमा केटिले उसलाई जबर्जस्त मन पराइदिनु पर्ने होइन भने तेजाब छ्याप्ने, तातो पानी खन्याउने, आगो लगाउने, कोठामै थुन्ने जस्ता अमानवीय कार्य गर्ने, दाइजो नल्याएको वा कम भएको निहुँमा कुटपिट गर्ने, अलछिना, बाँझिको आरोप लगाउने घृणित कार्यहरू हुने गरेका छन् । सबैभन्दा खतरानाक यौनजन्य हिंसाका सिकार महिला नै हुने गर्दछन् । दुईतीन वर्षकी बालिका देखि लिएर ८०/९० वर्षकी बुढि आमाहरू पनि असुरक्षित हुन्छन् ।

 

बलात्कार दुर्व्यवहार यातना शोषण करणी यौन दासीका साथै मानव बेचबिखन ओसारपसार कार्यमा समेत प्रयोग गरेको पाइन्छ । आर्थिक श्रोत साधनको बाडफाँट तथा उपयोग गर्नबाट टाढा राखेर आयआर्जन र रोजगारीबाट वञ्चित गरि आफ्नो स्वच्छाले भोगचलन / खर्च गर्न नपाउने आर्थिक कारोबार गर्न सक्ने मान्यता अझैसम्म पनि लोग्नेकै मनोमानी चलिरहेको छ । ‘खुट्टा भए जुत्ता कति कति’ भन्ने मान्यता अझै पनि श्रीमतीलाई धम्क्याउने मानसिक प्रताडित बनाइरहने, अनर्गल गाली बेइज्जती गर्ने, रूखो व्यवहार गर्ने, मन नपरेसी आरोप लगाउने समाजमा व्याप्त परम्परा छदैछ । अझ ‘वनको डढेलो देखिन्छ मनको डढेलो देखिदैन’ भने झैँ झट्ट हेर्दा बाहिर नदेखिए पनि सामाजिक अवस्था रहनसहन लेनदेन व्यवहार आदिका कारणले महिला माथी गम्भीर मानसिक पीडा परेको देखिन्छ ।

 

धर्म संस्कृतिका नाममा लाग्ने आरोप, बालविवाह, बहुविवाह, अनमेल विवाह, दाइजो, घरेकु हिंसा जस्ता कयौं घटना सुन्न र देख्न पाइन्छ । सामाजिक हिंसा मन्दविष समान मानिन्छ, जसले समाज भित्रभित्रै खरानी भइसकेको हुन्छ । धार्मिक,  साँस्कृतिक आस्थासँग जोडेर नेपाल भारत जस्ता मुलुकमा गरिने महिलाको भ्रुण हत्या होस् या अफ्रिकी मुलुकमा महिलाको योनी साँघुरो पारिने सन्दर्भ होस् यी मानवाधिकार र मानवीय मुल्यमान्यता विपरीत रहेकाछन् ‘कुरा गर्‍यो कुराकै दुःख’ भने झैँ महिला मुक्तिको लागि भनेर नै दैनिक जसो हुने गरेका बैठकहरू र लामैलामा सुझाव बुझाउनेहरू, भाषण ठोक्नेहरू, गोष्ठी, कार्यशाला, सेमिनार गर्ने पेट भरूवा सामाजिक कार्यकर्ता, राज्य हाँक्ने नेतागण कार्यान्वयन गर्ने सम्बन्धित निकायमा रहने उच्चपदस्थ पदाधिकारीहरू बाटै महिलाहरू बढी पीडित भएको देखिन्छन् ।

 

घरपरिवार, कार्यालय सार्वजनिकस्थल होस् या सार्वजनिक यातायात, खेलमैदान आदिमा गरिने अवाञ्छित क्रीयाकलाप, अनावश्यक रूपमा गरिने टिकाटिप्पणी अश्लील शब्दहरू मात्रै नभएर पछिल्लो समय फेसबुक, टुइटर इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जालमा समेत दुर्व्यवहार गर्ने सिम्बोल पठाउने, ट्याक गर्ने शृङ्खला मौलाई रहेको छ । ग्रामीण भेगमा मेलापात वनजङ्गल घाँस दाउरापात जाँदा होस् या शहर बजारमा कार्यालय, विद्यालय, विश्वविद्यालय, फ्लिमहल देखि लिएर धार्मिक स्थलसम्म होस् महिला नै अत्याधिक हिंसाको चपेटामा परेका छन् ।

इतिहासदेखि वर्तमानसम्म समाजका लागि महिलाको उल्लेखनीय योगदान रहदै आएको छ । वैदिक कालका दुर्गा, काली चण्डी जस्ता नारी, गार्गी मैत्यक्य जस्ता विदुषी, क्लियोपेट्रादेखि जारा क्लिटङ्ग, म्याडम क्युरी, फ्लोरेन्स नाइटिङ्गेल हुँदै मलाला युसुफजायी सम्मका महिलाहरूको भूमिकामा कुनै पुरुषको भन्दा कम छैन । र, अन्त्यमा नेपालको संविधानमा महिलाका लागि  अनिवार्य संवैधानिक व्यवस्था गरिए तापनि ती केवल महिलाको उपस्थिति देखाउन मात्रै छन् भन्दा अनुपयुक्त नहोला । महिलाका निर्णयमा पुरूषहरू नै हावि भएको देखिन्छ ।

आर्थिक, राजनैतिक, सामाजिक लगायत विकास निर्माणका क्षेत्रमा हिमाल पहाड तराई मात्रै नभएर धनी शिक्षित भनिएका परिवार भित्र पनि शोषित भएका छन् कुनै क्षेत्रमा पनि उल्लेख्य उपस्थिति देखिदैन । तसर्थ महिलालाई विरूद्ध हुने सबै प्रकारका हिंसालाई रोक्न तथा निर्मूल पार्न नीति नियम ऐनकानुन बनाएर मात्रै हुँदैन । तिनलाई कार्यान्वयन गर्न सरकारवाला निकाय, सम्बन्धित कार्यमा खटिएका सामाजिक संघसंस्था, घरपरिवार समाज देखि विद्यालय सम्मको अग्रसरतामा समन्वयात्मक ढङ्गले एकीकृत उपायहरू अपनाएर अगाडी बढ्नुपर्ने देखिन्छ ।

 

विशेष गरि शिक्षा स्वास्थ्य कृषि सहकारी उद्योग आदि क्षेत्रमा रोजगार प्राप्त गर्न सक्षम बनाउन सीप विकास कार्यक्रम विस्तार गर्नुपर्छ । समावेशीकरणको मुल मर्मलाई आत्मसात गर्दै विकासको मूल प्रवाहीकरणमा बिना हिच्किचाहट समाबेश गर्नुपर्छ । स्वास्थ्य संवेदनशीलताको महत्वलाई ख्याल गर्दै विभेदपूर्ण व्यबहारको पहिचान र त्यसको अन्त्यको खोजी गर्ने र सबै प्रकारका हिंसाको कारण तथा परिणामको खोजी गर्दै रोकथाम र उन्मुलनको एकीकृत उपायहरू बनाएर समयवद्ध कार्यक्रम लागू गर्नुपर्छ । यसरी महिला र पुरूष दुबैको सहभागीतामा भए गरेका कार्य दिगो र अनुभूतिजन्य हुने हुनाले आधा आकाश ढाक्ने महिलाहरूका लागि गरूङ्गो पहाडले थिचिएको र अपमानित हुनुपरेको पिडा बिस्तारै भुलिदै जानेछ । जबसम्म पुरुष समाजले महिला हिंसा हाम्रो समाज विकासको बाधक हो भन्ने कुराको ठहर गर्दैन तबसम्म मूलुक पनि अगाडी बढ्न सक्दैन । महिला हिंसा महिला हिंसा मात्रै होइन आमा, दिदिबहिनी र चेलीबेटीहरू प्रतिको अपमान पनि हो ।
                  “जय नारी”