लकडाउन अन्त्य नभएसम्म सबै सरकारी कार्यालय नखुल्ने

काठमाडौं, बैशाख ३० । बन्दाबन्दी ९लकडाउन० को अन्त्य भई जनजीवन सामान्य नबनेसम्म सबै सरकारी सेवाहरू पूर्ववत् रूपमा सुरु नहुने अधिकारीहरूले बताएका छन्। सरकारले लकडाउनको अन्त्य भएर जनजीवन सामान्य नबनेसम्म अत्यावश्यकबाहेकका सेवा प्रवाह नगर्ने भएको हो। सबै सेवाहरू पूर्ववत् रूपमा सुरु गर्दा यसले लकडाउनको पालना नभई स्थिति झनै असहज हुन सक्ने भन्दै सरकारले कम्तीमा ३३ प्रतिशत कार्यालय खोल्ने व्यवस्था गरेको हो।

 

मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ सम्म लम्ब्याउने तर अत्यावश्यक र उत्पादनमुलक उद्योगहरू सञ्चालन गर्न दिने निर्णय गरेसँगै सबै सरकारी सेवा सञ्चालन हुने नहुनेमा अन्योल देखिएको थियो।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले लकडाउनको अवधिमा अत्यावश्यक र आधारभूत सेवा प्रदान गर्ने कार्यालयहरू खुला रहने तर सबै सेवा सञ्चालन नहुने बताए। ‘अहिले कम्तीमा एकतिहाइ कर्मचारीलाई बोलाउने, त्यहीअनुसार पास उपलब्ध गराउने र बिस्तारै सहज बनाउँदै जाने भन्ने निर्णय भएको छ,’ सचिव गौतमले नागरिकसँग भने, ‘अहिले सबै कर्मचारी बोलाएर सबै कार्यालय खोलेर सेवा सुरु गर्दा स्थिति असहज हुन सक्छ, त्यसकारण पालो मिलाएर कम मान्छेबाट धेरै काम कसरी लिन सकिन्छ भन्ने तरिकाले काम गरिएको छ। 

 

सचिव गौतमकाअनुसार सबै सेवा सुरु नभए पनि कर्मचारी भने नियमित रूपमा सम्पर्कमा रहनुपर्नेछ। उनले कोरोना रोकथाम, नियन्त्रण, उद्धार तथा राहतमा जनप्रतिनिधि र कर्मचारीहरू खटिएको बताउँदै आवश्यकता परे थप कर्मचारी खटाउन सकिने बताए। ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न समितिहरू छन्, त्यहाँ कर्मचारीहरू प्रतिनिधिमुलक ढंगले रहेका छन्,’ उनले भने, ‘स्थानीय तहहरू हेर्नुभयो भने प्रशासकीय अधिकृतलगायत अधिकतर कर्मचारी फ्रन्टलाइनमा खटिइरहेका हुन्छन्, आवश्यकताअनुसार कर्मचारीलाई परिचालन गर्ने अधिकार कार्यालय प्रमुखलाई छ। 

 

कर्मचारीलाई राहत, उद्धार र व्यवस्थापनमा खटाउनुपर्नेमा तलब दिएर घरमा किन राखेको रु भन्ने प्रश्नमा गौतमले अहिले आवश्यकताअनुसार कर्मचारी परिचालन गरिएको र कर्मचारीहरू कार्यालय प्रमुखको नियमित सम्पर्कमा रहेको र आवश्यकताअनुसार जुनसुकै बेला जहाँ पनि खटाउन सकिने बताए। ‘सबै कर्मचारीहरू कार्यालय प्रमुखको सम्पर्कमा छन्, आवश्यकता भएर बोलाउँदासाथ कर्मचारी उपस्थित भएर काम गर्नुपर्छ,’ उनले भने ‘बजेटको तयारीको काम भइरहेकाले मन्त्रालयहरूमा कार्यरत अधिकतर कर्मचारीहरू त आइरहेका छन्। अत्यावश्यकबाहेक सेवा अहिले नदिने भनिएको छ, आन्तरिक तयारीलगायत कामहरू भने भइरहेका छन्। नागरिक दैनिकमा खबर छ ।