बाजुराको खप्तड–छेडेदह गाउँपालिकाले गर्यो काठमाडौंमा रहेका मजदुर र विद्यार्थीलाई राहत वितरण

काठमाडौं,बैशाख ३०। बाजुराको खप्तड–छेडेदह गाउँपालिकाले काठमाडौंमा रहेका विद्यार्थी र मजदुरलाई राहत सामग्री वितरण गरेको छ।

 

कोरोना भाइरसको महामारीका बेला लकडाउनका कारण समस्यामा परेका खप्तड–छेडेदह स्थायी घर भएका विद्यार्थी र मजदुरलाई राहत वितरण गरिएको हो । काठमाडौं उपत्यकामा डेरा गरी बस्ने १ सय २० जना विद्यार्थी र मजदुर वर्गलाई राहत वितरण गरिएको राहत वितरणको जिम्मा पाएका विद्यार्थी नेता थुमराज उपाध्यायले जनाकारी दिए ।

 

उपाध्यायका अनुसार उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बस्ने विद्यार्थी र मजदुरको डेरामै पुगेर राहत वितरण गरिएको हो ।

एक परिवार वा एउटै कोठा–फ्ल्याटमा बस्नेलाई प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, २ लिटर तेल र १ किलो नुनका दरले वितरण गरिएको उपाध्यायले बताए । विद्यार्थी र मजदुरहरु टाढा–टाढा बस्ने भएकाले तीन दिन लगाएर राहत वितरण गरिएको हो ।

 

गाउँपालिकाको निर्णयअनुसार नै काठमाडौंमा रहकालाई राहत वितरण गरिएको उपाध्यायको भनाई छ । गाउँपालिकाले निश्चित विद्यार्थी र मजदुरको नामावलीसहित राहत वितरणका लागि २ लाख ५० हजार पठाएको थियो तर, राहत लिनेहरु थपिएकाले राहतमा पनि केहि हेरफेर गरिएको थियो ।

 

यसैलाई मुद्धा बनाएर केहि विद्यार्थी र मजदुरले राहत लिन अस्वीकार गरेका छन् । उनीहरुले गाउँपालिकाको निर्णय विपरित राहत वितरण गरिएको भन्दै राहत लिन अस्वीकार गरेका हुन् । गाउँपालिकाले काठमाडौंका लागि थुमराज उपाध्याय, मंगल नेपाली, चेत थापा, भीम रावत, नरेश धामी, चन्द्र रावत र श्याम बुढालाई जिम्मेवारी तोकेको थियो । यसैगरी गाउँपालिकाले पालिकाभित्र रहेका सबै घरधुरी र धनगढी, अत्तरिया महेन्द्रनगरमा रहेको विद्यार्थी र मजदुरलाईसमेत राहत वितरण गरेको छ ।