लिपुलेक लिम्पियाधुरामा बैरीलाई परेड खेलाइ

म मेरो समर्पण
वीरता र त्यागलाई
तिम्रो सत्ताको खेलमा
च्याँखे थाप्न चाहन्न
ओ दोर्जे !

म मेरो राष्ट्रलाई
अर्को सिक्किम
बनाउन चाहन्न

उसका बिखालु दाँतलाई
तिमी प्रेम-प्रतीक मान
अतीतको गौरव गाथालाइ
तिमी विदेसीको पोल्टामा फाल
तिम्रो अग्लाइ
मुसाको कुदाकुद र उफ्राइमा छ
ओ दोर्जे !

म तिमीसँग उभिन चाहन्न
तिम्रो अग्लाइमा अग्लिनचाहन्न

म हृदययुक्त मानिस
तिमी फोहोरी
तिमी राष्ट्रघाती
तिमी धोकेबाज
मत रातै रङबाट रातिएको
लालीगुराँस जस्तै चम्किएको
आफ्नै रक्तशालामा खारिएको
श्रममस्त मानिस
ओ दोर्जे !

त्यस्तो मानिस
पिठ्युँ फर्काएर
युद्धबाट भागेको छ
कहिल्यै
न कहिल्यै
देस बेचेर निदाएको छ
तिमी जस्तो
कृतघ्न बनेको छ

ओ दोर्जे !

तिमीलाई देख्दा
एक मन हाँसो उठ्छ
एक मन तिमीलाई
पिच्च थुक्न मन लाग्छ
भित्रभित्रै
रिसको फोहोरा छुट्छ

ओ दोर्जे !

तिमी जस्तो
दासताको सिक्किम हुन चाहन्न
म शिखर उभिन चाहन्छु
स्वतन्त्र सार्वभौम उचाइ
चुम्न चाहन्छु
म मुक्त हुन चाहन्छु
ओ दोर्जे !

लिपुलेक लिम्पियाधुरामा
बैरीलाई परेड खेलाइ
आफ्नै नसामा रल्लिदा
तिमीलाई धिक्कार्न
मन लाग्छ
तिम्रो दुनियाँमा
आगो झोस्न मन लाग्छ