पहुँचवालालाई पास, अरुलाई चोर बाटो

काठमाडौं, बैशाख ३१ । वीरगन्जबाट खाद्यान्न बोकेको एउटा ट्रकमा तीन जना पुरुष पनि चढेका थिए । उनीहरु वीरगन्जबाटै आएका हुन् । जुन ठाउँमा मंगलबार मात्रै ३९ जना कोरोना संक्रमित देखिएका छन् । चालकले नागढुङ्गा भन्दा करिब ६ किलोमिटर तल खत्रीपौवाको अस्थायी चेकपोष्टमा उनीहरुलाई ओराले ।

 

उनीहरुलाई ल्याएपछि गाडी नै फर्काउनु पर्ने भएपछि चाकलले चलाखी गरेर खत्रीपौवा खोलाको पुलमै ओरालेका हुन् । ट्रकबाट ओर्लेर उनीहरु अलमलमा परे । अरु ट्रक र निजी गाडीले ओरालेका उनीहरुजस्तै ५ जना पनि त्यही छेउको छाप्रोमा थिए । यसरी गाडीले ओरालेपछि मुलबाटो हुँदै उनीहरुलाई काठमाडौं प्रवेश दिइँदैन । उनीहरुले काठमाडौं प्रवेश गर्न मूलबाटोको बिकल्पमा चोर बाटो रोजे । खत्रीपौवा खोलाको पुलबाट हिँडेरै नागढुङगा नजिकैका देउराली डाँडामा निस्कनतिर लागे ।

 

यही हुल पछिपछि लागे सात महिनाकी गर्भवती महिला र उनका श्रीमान् । ‘श्रीमती सात महिनाको गर्भवती छिन् । नियमित स्वास्थ्य परीक्षण गराउन काठमाडौं जान लागेका हौ‌ । ट्रकले बाटैमा झारेपछि जंगलको बाटो हिँडेर जान लागेका छौ,’श्रीमानले भने,‘प्रशासनबाट पास बनाएर आउनेहरु गइरहेकै छन् । हामी पास बनाउन नसक्नेहरु यसरी लुकेर जानुको विकल्प छैन ।’जंगलको बाटोबाटै अर्को एक टोली पनि थानकोटतिर उक्लिइरहेको थियो । ‘सानो गाडीमा आएका थियौ,’टोलीकी महिलाले भनिन्,‘प्रहरीले जहाँबाट ल्याएको हो, त्यही फर्काएर आउनु भन्दै गाडी नै फर्काएपछि हामी जंगलको चोर बाटोबाट काठमाडौं जान लागेका हौ‌ ।’नागढुङगाको चेकपोष्टमा आइपुगेर यसरी फर्काइएका सर्वसाधरण ६ किलोमिटर तल खत्रीपौवा र १२ किलोमिटर परको नौबिसे पुगेर चोरबाटो हुदै थानकोट निस्किने गरेका छन् ।

 

नुवाकोटबाट काठमाडौं जान आउनेहरु गल्छीदेखि हिँडेर नागढुङगा नजिकै देउराली डाँडामा निस्किने पनि गरेका छन् । यो डाँडा हुँदै २४ सै घण्टा मान्छे आइरहेको बाडभन्जाङ देउरालीकी सर्मिला खत्रीले बताइन् । ‘रातभरी पनि मान्छे हिँडिरहेका हुन्छन् । हामीले रोक्ने कुरा भएन । प्रहरीलाई पनि यो बाटोबाट मान्छे आइरहेको थाहा छ । रोक्दैन,’उनले भनिन् । यो नाकाबाहेक सितापाइला रामकोटको बाटो हुँदै पनि उपत्यका बाहिरबाट आउने सर्वसाधरण सहजै छिर्ने गरेका छन् ।

 

उपत्यका बाहिरको जिल्ला प्रशासनमा पहुँच नहुनेहरु ट्रक, एम्बुलेन्स, निजी गाडीमा कोचिएर काठमाडौंको नाका नजिकैसम्म आउँछन् । गाडीले झारेपछि र प्रहरीले ओरालेपछि जंगलको बाटो हुँदै लुकेर काठमाडौं प्रवेश गर्छन् । पहुँच र चिनजानको आधारमा पास बनाएर आउनेहरु भने रोकतोक बिनै सहजै काठमाडौं छिर्न पाउछन् । कान्तिपुर दैनिकमा खबर छ ।