नेपालगञ्जबाट काठमाडौँ आएका १२ जना क्वारेन्टाइनमा

बूढानीलकण्ठ,जेठ ४ । बूढानीलकण्ठ नगरपालिकाले नेपालगञ्जबाट आएका १२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखेको छ । कोभिड–१९ को सङ्क्रमण बढिरहेको अवस्थामा बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौँ आएका १२ जनालाई बूढानीलकण्ठ नगरपालिका–६ मा रहेको छहारी भवनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए।

 

भारतको विभिन्न ठाउँ हुँदै नेपालको सीमासम्म आइपुगेका ती व्यक्तिहरु नेपालगञ्जमा रहेको क्वारेन्टाइनमा बसी पत्रसहित सम्बन्धित विभिन्न जिल्ला पठाउने क्रममा काठमाडौँ आइपुगेको बताइएको छ ।

 

क्वारेन्टाइनमा राखिएका १२ पुरुषहरु काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, रसुवा, नुवाकोट र सुर्खेतलगायत जिल्लाका रहेका छन् । नेपालगञ्जबाट काठमाडौँ आएका ती व्यक्तिहरुको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ । रासस