नेपाली युवा दिवेश बने अमेरिकन आइडलको उपविजेता

 काठमाडौं,जेठ,५ । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली युवा  दिवेश पोखरेल उपविजेता बनेका छन्। अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन्। दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । 

 

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

अमेरिकन आइडल बनेकी जस्ट साम को हुन् ?

उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।

 

उनले पहिलो अडिसनबाटै निर्णायकहरुलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो।