नेपालका ३२ जिल्लामा फैलियो कोरोना, कहाँ कति संक्रमित

काठमाडौं, जेष्ठ ६ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । हिजो (सोमबार) एकै दिन ८० जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

 

पछिल्लो दुई दिनमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ३३७ जना अइसोलेसनमा उपचाररत छन् । ३६ जना भने उपचारपछि निको भएर घर फर्केका छन्। नेपालमा पहिलो संक्रमित माघ ९ गते देखिएको थियो ।

 

हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन्। बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन्।

 

प्रादेशिक तथ्यांक हेर्दा सबै भन्दा बढि प्रदेश ५ मा १७१ जना र प्रदेश २ मा १३४ जना कोरोना संक्रमित भेटिएका छन् भने कर्णालीमा प्रदेशमा एक जना मात्र कोरोना संक्रमित भेटिएका छन् । प्रदेश ५ र प्रदेश २ कोरोना संक्रमणबाट बढी प्रभावित छन् । दिनानुदिन कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँका मानिसमा त्रास पनि बढेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ को उदयपुरमा ३३, झापामा ३, भोजपुरमा १, धनकुटामा १, खोटाङमा १, सुनसरीमा १ र मोरङमा ३ गरेर ४३ जना संक्रमित भेटिएका छन् भने १७ जना उपचारपछि घर फर्केका छन्।

 

त्यस्तै प्रदेश २ को धनुषामा ९, पर्सामा ९१, बारामा ४ महोत्तरीमा ३, रौतहटमा २२, सप्तरीमा १ सिरहामा १ र सर्लाहीमा ३ गरि १३४ जना संक्रमित पुष्टि भएका छन् भने ५ जना उपचारपछि घर फर्केका छन् । प्रदेश ३ को काठमाडौंमा ७, काभ्रेपलान्चोकमा १, सिन्धुपाल्चोकमा १, भक्तपुरमा २, चितवनमा ३, धादिङमा ३ र मकवानपुरमा १ जना गरि १८ जनामा कोरोना संक्रमण देखिएको छ भने ६ जना डिस्चार्ज भएका छन् । हालसम्म प्रदेश ३ मा १ जनाको मृत्यु भएको छ ।

 

त्यस्तै प्रदेश ४ (गण्डकी) को बागलुङमा २ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १ जना गरी ३ जना संक्रमित भेटिएका छन् भने २ जना निको भएर घर फर्केका छन् । प्रदेश ५ को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १, बर्दियामा २, दाङमा ४, गुल्मीमा १, बाँकेमा ९४, रुपन्देहीमा २८, कपिलवस्तुमा ४२ जना गरि १७१ जना कोरोना संक्रमित पुष्टि भएको छ । प्रदेश ५ मा १ जनाको कोरोनाबाट मृत्यु भएको छ । प्रदेश ६ (कर्णाली)को दैलेखमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रदेश ७ (सुदुरपश्चिम)को कैलालीमा ४ र कञ्चनपुरमा १ गरी ५ जनामा संक्रमित पुष्टि भएको छ भने पाँचै जना निको भएर घर फर्केका छन् ।

 

हालसम्म सबैभन्दा कम उमेरका २ महिनाको शिशुमा र बढीमा ८१ वर्षिया बृद्धामा कोरोना पुष्टि भएको छ । सबैभन्दा बढी बाँके र पर्सा प्रभावित छन् । खुल्ला नाका भएर त्यहाँ भारतबाट चोरी नाका हुँदै आवतजावत भइरहेको छ ।

 

देशभर कोरोनाको आशंकामा ९४ जनालाई आइसोलेसनमा राखिएको छ । प्रदेश १ मा ४ जना, प्रदेश २ मा ६ जना, प्रदेश ३ मा ५९ जना, प्रदेश ५ मा १४ जना र प्रदेश ७ मा ११ जना गरि ९४ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ । चैत ९ गते दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । चैतको अन्तिमसम्ममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख अन्तिमसम्ममा २४३ जना पुगेका थिए । पछिल्लो पाँच दिनमा १३२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ ।नागरिक दैनिकमा खबर छ।