गाउँपालिका अध्यक्षले बैठकमै कुटे वडाध्यक्ष

रोल्पा,जेठ १०। रोल्पाको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले वडा नम्बर ४ अध्यक्ष गंजबहादुर क्षेत्रीलाई कार्यपालिकाको बैठकमै कुटपिट गरेका छन्।घटना शुक्रबार बेलुकी ५ बजेतिरको हो।

 

कार्यपालिका बैठक चलिरहेको समयमा गाउँपालिकाका अध्यक्ष घर्तीले आफूमाथि कुटपिट गरेको अध्यक्ष क्षेत्रीले बताए।

 

१४ औं कार्यापालिका बैठक चलिरहेको थियो। आठ जना वडाध्यक्षज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका कर्मचारी, गाउँपालिकाको उपाध्यक्ष सबै हुनुहुन्थ्यो, त्यही क्रममा एक्कासी गाउँपालिकाका अध्यक्ष आएर मेरो अनुहारमा मुक्का हान्दै झन्टिनु भो, वडाध्यक्ष क्षेत्रीले भने।

 

कुटपिट भएपछि आफूले प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे जानकारी गराएको उनले बताए।

‘सिडिओसाबलाई मौखिक जानकारी गराएर म सुलिचौरस्थित इलाका प्रहरी कार्यालय पुगेर आफूमाथि कुटपिट भएकोबारे लिखित जानकारी गराएको हुँ,’ उनले भने।

 

घटनाबारे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चित्रबहादुर गुरुङले गाउँपालिकामा छलफल भएर कुरा नमिले निवेदनका आधारमा छलफल अगाडि बढाइने बताए। ‘दुबै जना धकेलाधकेल गरेको भन्ने जानकारीमा छ,’ उनले भने।

झगडाको कारण के हो?

वडा कार्यालयले जेठ ७ गते सुलिचौर बजारमा रहेका बैंकका म्यानेजरसँग छलफल गरेर सातामा दुईदिन सोमबार र बिहीबार सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णय गरेको थियो।

 

८ गते गाउँपालिकाका अध्यक्ष घर्तीले फेरि सुलिचौरका बैंक म्यानेजरलाई बोलाएर छलफल गरेका थिए। वडाले गरेको निर्णय मान्ने नहुने र कार्यान्वयन नगर्न उनले आग्रह गरेका थिए।

 

त्यसपछि जेठ ९ गतेको बैठकमा त्यही विषयमा कुराकानी हुँदा गाउँपालिकाका अध्यक्ष घर्तीले वडाध्यक्ष क्षेत्रीलाई कार्यपालिका बैठकमै मुखमा मुक्का हानेका थिए।

 

‘बैंक म्यानेजरहरु सँगको छलफलका आधारमा वडाले दुई दिन सामाजिक सुरक्षा भत्ता बाँड्ने र अन्यदिन बैंकले आन्तरिक काम गर्ने निर्णय गरेको थिए,’ वडाध्यक्ष क्षेत्रीले थपे, ‘कार्यपालिका बैठकमा मैले बरु त्यसमा गाउँपालिकालाई एक दिन अरु थप गर्न आग्रह गरे। तर गाउँपालिकाका अध्यक्ष घर्तीले वडालाई त्यो निर्णय गर्ने अधिकार कसले दियो? त्यो निर्णय मैले काट्न नपाउने भन्दै जंगिनुभयो। म पनि बोलिरहेको थिए, अनि उहाँले मलाई मुखमा मुक्का हानुभयो।

 

सुलिचौरका बैंकहरुमा मानिसको बाक्लो भिडभाड देखिन थालेपछि त्यसलाई व्यवस्थित गर्न र कोरोना भाइरससँग वडाबासीलाई जोगाउन वडाले दुई दिन बैंक खोल्ने निर्णय गरेको वडाध्यक्ष क्षेत्रीले बताए।

 

गाउँपालिका अध्यक्ष घर्तीले खाद्यान्न ढुवानीको सिफारिस वडाध्यक्ष रोकिदिने गरेको, बैंकहरु आफूखुसी खोल्ने निर्णय गरेको हुनाले समस्या देखिएको बताए।

 

‘वडाध्यक्ष क्षेत्री संघीय सरकारको विरोधमा उत्रिएको देखियो। हामीले दिएका सिफारिस पनि रोकिदिने गरेको पाइयो,’ अध्यक्ष घर्तीले भने, ‘त्यस्तो किन गरेको भनेर सोध्दा वडाध्यक्षले उल्टै ममाथि जाइ लागे र कुपिटमा उत्रिए।’ वडाध्यक्षले आफूमाथि कुटपिट गरेको उनको भनाइ छ।

 

उनले वडाध्यक्षले आफूलाई झुटो आरोप लगाएको पनि बताए। घटनाबारे प्रहरीमा परेको निवदेन र नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले निकालेको विज्ञप्तिमा झुटा कुरा उल्लेख गरिएको उनले दाबी गरे।

 

गाउँपालिकाका अध्यक्ष पूर्वमाओवादीवाट निर्वाचित हुन् भने वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुन्।

 

कांग्रेस रोल्पा सभापति पुनले शनिबार विज्ञप्ति निकालेर घटनाको छानविन गरी दोषि पाइएमा गाउँपालिकाका अध्यक्ष घर्तीमाथि कानुनी कारवाहीको गर्न माग गरेका छन्।सेतोपाटीबाट,