बढ्दै छन् कोरोना जित्नेहरू

बुटवल, वैशाख १२ । प्रदेश ५ मा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । तर अर्को खुसीको खबर, कोरोना युद्धलाई जितेर घर फर्किनेको सङ्ख्या पनि बढिरहेको छ ।

 

नेपालगञ्जमा २१ जनाले कोरोनो जितेर हर्षोल्लास मनाउँदै घर फर्किएको भोलिपल्ट शनिबार साँझ बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना सङ्क्रमित निको भएर घर फर्किए । यसअघि पनि यही अस्पतालबाट एकजना युवा निको भएर घर जानुभएको थियो ।

 

सङ्क्रमित बढिरहेको यो प्रदेशमा मुक्त भएर फर्किनेहरू बढेपछि मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै उहाँहरूलाई बधाइ दिनुभएको छ । २७० भन्दा धेरै सङ्क्रमित यो प्रदेशमा कोरोना युद्ध जित्नेको सङ्ख्या ३२ पुगेको छ भने ज्यान गुमाउनेको सङ्ख्या दुई रहेको छ ।

बढ्दै छ मनोबल

बुटवल समाचारदाता छविलाल पाण्डेका अनुसार शुक्रबार रूपन्देहीमा एकैपटक आठजनामा कोरोना सङ्क्रमण भएको समाचारले चिन्तित बनेका जिल्लावासी शनिबार साँझ एकैपटक १० जना कोरोना सङ्क्रमित बिरामी निको भएर घर फर्किएपछि खुसी भएका छन् ।

 

यो समाचारले मनोबल बढाउन मद्दत पुगेको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारत १० जना कोरोना सङ्क्रमित बिरामी उपचारपछि निको भएर घर फर्किएपछि सबैमा मनोबल बढेको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई हप्ताअघि कोरोना अस्पतालको एकान्तवासमा भर्ना भएका बिरामी निको भएर शनिबार घर फर्किएका हुन् । निको भएर घर फर्किने सबै कपिलवस्तु जिल्लाका भएको अस्पतालले जनाएको छ ।

 

दुई हप्ताको उपचारपछि दुईपटक गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरी बिदाइ गरिएको बुुटवल कोरोना विशेष (अस्थायी) अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा। सुुदर्शन थापाले जानकारी दिनुभयो । यसअघि रूपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा पनि कोरोनालाई जितेर घर गइसकेका छन् । धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा रूपन्देही र कपिलवस्तुका गरी ३६ जना कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको थियो ।

नरैनापुरमा विशेषज्ञ चिकित्सक र सेना

बाँके समाचारदाता गोविन्द शर्मा र नेपालगञ्ज समाचारदाता सिराज खानका अनुसार एक मृतकसहित ११४ जनामा कोरोना सङ्क्रमण भएको बाँकेको नरैनापुर गाउँपालिकामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ ।

 

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विशेषज्ञ चिकित्सकसहित सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै नरैनापुरमा सेना पनि परिचालन गर्ने निर्णय गरिएको हो ।

 

नेपालगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणका गणपति प्रमुख सेनानी नहकुल थापाका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुरक्षाका लागि सेना परिचालन गरिएको हो । सेनानीको नेतृत्वमा एक प्लाटुन सैनिक टोली परिचालन गरिएको हो । नरैनापुरमा कोरोना सङ्क्रमित व्यक्तिलाई आइसोलेसन अस्पताल ल्याउन अवरोध गर्ने तथा भगाउने कार्य भएपछि जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेको हो ।

 

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नरैनापुरमा सङ्क्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्म निषेधित क्षेत्र कायम गरिएको जानकारी दिनुभयो । यसअघि नरैनापुरलाई सिल गरिएको थियो । प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो, ‘सङ्क्रामक रोग थप फैलिन नदिनका लागि निषेधित क्षेत्र लागू गरिएको छ । ’ यसैगरी जिल्लाबाट विशेषज्ञ चिकित्सकसहितको टोली नरैनापुरमा खटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । नरैनापुरमा समुदायस्तरमा सचेतना फैलाउने अभियानसमेत गरिने खड्काले बताउनुभयो । नरैनापुरका विभिन्न क्वारेन्टाइनमा रहेकामध्ये हालसम्म एक मृतकसहित ११४ मा सङ्क्रमण देखिएको छ ।

क्वारेन्टाइन भरिभराउ

परासी समाचारदाता गोपी ज्ञवालीका अनुसार भारतबाट प्रवासी नेपालीलाई भारतले सिमानासम्म पठाइदिएपछि अहिले नवलपरासीका सीमाक्षेत्रमा बनाइएका क्वारेन्टाइनहरू भरिभराउ बनेका छन । भारतीय पक्षले त्यहाँका विभिन्न स्थानमा रहेका नेपालीलाई रेलमार्फत नेपाली सिमानासम्म पु¥याएर छाड्दिन थालेपछि नवलपरासीका सीमामा रहेका गाउँपालिकाका क्वारेन्टाइन भरिभराउ बनेका पाल्हीनन्दन गाउँपालिकाका प्रमखु वैजुप्रसाद गुप्ता दीपकले बताउनुभएको छ । पश्चिम नवलपरासीका भारतीय सिमानासँग जोडिएर रहेका पाल्हीनन्दन गाउँपालिका, सुस्ता, सरावलसहित जिल्लाको सदरमुकाम रामग्राम नगरपालिका लगायतमा बनाइएका क्वारेन्टाइन अहिले भरिभराउ छन् । सिमानामा रहेका गाउँपलिकाका करिब सबै वडामा रहेका विद्यालयमा क्वारेन्टाइन बनाइए्को छ ।

होल्डिङ क्वारेन्टाइन

तानसेन समाचारदाता रेखीराम रानाका अनुसार भारतबाट पाल्पाका विभिन्न स्थानमा फर्किएकालाई तानसेनमा निर्माण गरिएको होल्डिङ क्वारेन्टाइनमा राखिएको छ । भारतलगायतका तेस्रो मुलुकमा अलपत्र परेका जिल्लावासीलाई उद्धार गर्दै पहिलो चरणमा होल्डिङ क्वारेन्टाइनमा राख्ने र त्यहाँ आरडीटी÷पीसीआर जाँचपछि मात्र पालिकामा लैजाने व्यवस्था गरिएको छ । भारतका विभिन्न स्थानमा अलपत्र रहेका जिल्लाका नागरिकलाई सम्पर्क गरेर जिल्लामा उद्धारको काम सुरु भएको छ । सुनौली नाकामा रहेका ३९ जनालाई पहिलो चरणमा उद्धार गरिएको छ । उद्धार गरिएकाको आरडीटी र पीसीआर जाँचपछि मात्र सम्बन्धित पालिकामा लैजाने व्यवस्था गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।

आकस्मिक रक्तदान

रूपन्देही समाचारदाता भुवन कार्कीका अनुसार कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला रगतको अभाव हुन नदिन बुटवलमा आकस्मिक रक्तदान गरिएको छ । नेपाल स्वयम्सेवी रक्तदाता समाज जिल्ला शाखा रूपन्देहीको आयोजनामा रक्तदान गरेको हो । नेपालसहित विश्वभरि कोरोना सङ्क्रमण फैलिरहेको र नेपालमा सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको बेला रगतको अभावमा कोही मृत्युको मुखमा पर्न नपरोस् भन्ने उद्देश्यले ‘स्वस्थ रगत : सबैका लागि’ नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

पत्रकार कोरोना कोष

तम्घास समाचारदाता तिलाचन पाण्डेका अनुसार पत्रकार महासङ्घ गुल्मीले डेढ लाखको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । पत्रकार महासङ्घ जिल्ला कार्यसमितिको बैठकले पछिल्लो समय पत्रकार तथा सञ्चारकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएकाले कोषको स्थापना गर्दै आगामी दिनमा कोषलाई वृद्धि गर्दै लैजाने जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।