थपिँदै संक्रमित स्वास्थ्यकर्मीको संख्या

काठमाडौँ, जेठ १४ । सुरक्षा सामग्रीको कमजोर व्यवस्थापनका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढ्दै गएको छ । मुलुकभर चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी १० जना संक्रमित भइसकेका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये दुई जना चिकित्सक, ६ जना नर्स र दुई जना अहेव छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट कन्ट्याक्ट ट्रेसिङमा खटिएका र नेपाली सेनाका गरी दुई चिकित्सकमा संक्रमण देखिएको हो । दुवै अहिले बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा छन् । संक्रमित नर्समध्ये एक जना उनी कार्यरत बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालकै आइसोलेसनमा छिन् । त्यस्तै, धनकुटाका संक्रमित दुई नर्स र दुई जना अहेव कोसी अस्पतालको आइसोलेसनमा छन् । अर्की एक संक्रमित नर्सको उनी कार्यरत वीरगन्जको नारायणी अस्पतालमै उपचार भइरहेको छ ।

 

स्वास्थ्यकर्मी आफैं संक्रमित भएका घटना कोरोना संक्रमित धेरै भएका मुलुकका लागि नौलो होइन । सक्दो सावधानी अपनाउँदा–अपनाउँदै नर्सलाई संक्रमण सरेको नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायले बताए । ‘नर्स संक्रमित भएपछि अन्य कर्मचारी त्रसित छन्,’ उनले भने, ‘सुरक्षा सामग्री र क्वारेन्टाइनका लागि होटलको व्यवस्था भने गरेका छौं ।’ सरकारले दिएको सुरक्षित स्वास्थ्य सामग्रीहरू (पीपीई, मास्क, पन्जालगायत) अपुग भएपछि विभिन्न संघसंस्था र व्यवसायीले दिएको सहयोगका भरमा काम चलाइरहेको उनले बताए ।

 

स्वास्थ्यकर्मीसमेत संक्रमित हुनुले अस्पतालमा स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थापन कमजोर भएको बुझिने नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले बताए । चिकित्सकलाई सुरक्षा सामग्री र तालिमको कमी भइरहेको उनको भनाइ छ । काम गर्ने संस्थाले सामग्री नदिएको गुनासो बढेपछि संघले आफैं मास्क किनेर चिकित्सकहरूलाई बाँडिरहेको छ । ‘चिकित्सक संक्रमित हुनु या जोखिममा पर्नु भनेको अस्पताल नै जोखिममा पर्नु हो,’ उनले भने, ‘अस्पताल नै सिल गर्नु समाधान होइन । स्वास्थ्यकर्मी सुरक्षित बनाए भोलि बिरामीले उपचार नपाउने स्थितिबाट जोगिन सकिन्छ ।’ सरकारले सक्दो चाँडो सबै निकायसँग समन्वय गरेर महामारीविरुद्ध लड्न तयार हुनुपर्ने उनले सुझाए ।कान्तिपुर दैनिकमा खबर छ।