पाँच लाखको कोरोना परीक्षण गर्ने तयारी

काठमाडौं, जेठ १४ । सरकारले कोरोना भाइरस सङ्क्रमण प्रभावित क्षेत्र र सङ्क्रमितको सम्पर्कमा रहेका करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतलगायत विदेशबाट नेपाली आउने क्रम बढ्ने आकलनसहित क्वारेन्टाइन, आइसोलेसन र परीक्षणको दायरा बढाउने गृहकार्य गरिरहेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भने, “पाँच लाख व्यक्तिको परीक्षण तुरुन्तै गराउने हिसाबले आवश्यक किट, स्वास्थ्य सामग्री, उपकरण मौजुदा राख्ने निर्णय गरिएको छ । ” उनले विदेशबाट आउने क्रम जारी रहने र भाइरस सङ्क्रमण अवधि लम्बिने अवस्थामा छ लाखभन्दा बढीको परीक्षण गर्नुपर्ने अवस्थासमेत आकलन गरी तयारी गरिएको बताए ।

 

उनका अनुसार विदेशबाट आएकालाई परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, निश्चित अवधिपछि फेरि परीक्षण गरेर पूर्णतः स्वस्थ भएपछि परिवारमा पठाउने नीति सरकारले लिएको छ ।

 

मन्त्री ढकालले देशभर परीक्षण बढाइएकै कारण सङ्क्रमितको सङ्ख्या बढेको चर्चा गर्दै भने, “माघ ९ गते पहिलो केस पुष्टिका लागि हङ्कङ ल्याबको प्रयोग गरिएको थियो । यद्यपि यो महामारी बीचमै हामीले अहिले २० ठाउँबाट परीक्षणको सेवा दिइरहेका छौँ । 

 

उनका अनुसार अहिलेसम्म एक लाख ५२ हजारलाई परीक्षणको दायरामा ल्याइसकिएको छ । नमुना सङ्कलन बढी भएको दिनमा तीन हजार आठ सयभन्दा बढीको पीसीआर परीक्षणसमेत गरिएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको सम्बोधनमार्फत जनसङ्ख्याको दुई प्रतिशतलाई परीक्षणको दायरामा ल्याउने बताएका थिए । सोहीअनुसार मन्त्रालयले कामलाई तीव्रता दिइएको मन्त्री ढकालले बताउनुभयो । उनले भने, “तीव्र ढङ्गले सबैतिर परीक्षण गरिरहेका छौँ । सङ्कलन गरेका नमुना ल्याबमा थुप्रिएका छन् । 

 

ल्याबमा परीक्षणका लागि सङ्कलन गरिएका नमुना थुप्रिएपछि परीक्षण प्रयोगशालालाई दैनिक पाँच हजारभन्दा बढीको परीक्षण गर्नसक्ने गरी विस्तार गर्ने तयारी मन्त्रालयको छ । उनले भने, “जनसङ्ख्याको आधार, प्रभावित हुने क्षेत्रलाई समेत ध्यानमा राखेर पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिनेछ । 

 

पछिल्लो दिनमा भारतमा सङ्क्रमण बढ्दै गएपछि नेपालमा त्यसले समस्या निम्त्याएको ठम्याइ मन्त्री ढकालको छ । उनले उदयपुर, वीरगन्ज, रुपन्देही, कपिलवस्तु, नेपालगन्ज, सुदूरपश्चिमलगायत स्थानमा छिमेकी मित्रराष्ट्र भारतबाट आएका नेपाली नागरिकबाट नै सङ्क्रमणको मुख्य फैलावटको आधार बनेको चर्चा गरे ।

 

उनले छिमेकी मित्रराष्ट्रबाट ठूलो सङ्ख्यामा लुकिछिपी प्रवेश गरेकाबाटै नेपालमा कोरोना जोखिम बढाएको बताए । उनले भने, “सङ्क्रमितको सङ्ख्या हेर्दा पनि उडेरभन्दा हिँडेर आएको भाइरस नै अलि कडा प्रकृतिको छ । यसले हामीलाई अलि बढी प्रभावित पारेको छ । ” मन्त्री ढकालले शक्तिसम्पन्न र स्वास्थ्य उपचारका क्षेत्रमा व्यवस्थित भनिएका राष्ट्रलाई समेत कोरोना महामारीले हम्मेहम्मे पारिरहेको स्थितिमा साधन र स्रोतको पहुँच कम भएको नेपालले कोरोनाविरुद्ध सङ्घर्ष गरिरहेको चर्चा गरे ।

 

उनले सम्पन्न र स्वास्थ्य उपचारमा व्यवस्थित भनिएका राष्ट्रका अस्पतालले बिरामीलाई घरमै आइसोलेसनमा बस्न भनिरहेको प्रसङ्ग उल्लेख गर्दै भने, “साधन र स्रोतमा पहुँच नभएको हाम्रोजस्तो मुलुकमा राज्यको कुशल व्यवस्थापनको कारणले सङ्क्रमित खोजेर उपचार गरिरहेका छौँ । 

 

उनले भने, “राज्यले यहाँ छ कि रु त्यहाँ छ कि रु भनेर परीक्षण गरेर सङ्क्रमित खोजेर ल्याइरहेको छ । यो सकारात्मक पाटो हामी देख्दैनौँ । ” मन्त्री ढकालले परम्परावादी नीति छाडेर स्वास्थ्य क्षेत्रलाई नयाँ ढङ्गले अगाडि बढाउन सरकारले नीति तथा कार्यक्रममार्फत ‘एउटा प्रस्थान’ गरेको स्पष्ट पारे । उनले भने, “स्वास्थ्य क्षेत्रलाई राज्यले जिम्मा लिन्छ भन्ने अनुभूति हुने गरी कार्यक्रम अगाडि बढाउने नीति ल्याएका छौँ । ”उनले निरोगी नेपालको अवधारणाबारे चर्चा गर्दै भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा एउटा नवीन युगको आरम्भ गरेका छौँ भन्ने अनुभूति हुने गरी काम देखाउँछौँ । ” उनले स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सेवासुविधा चित्तबुझ्दो नभएको समेत बताए ।

 

उहाँले भन्नुभयो, “स्वास्थ्यका कर्मचारीमाथि सेवा र सुविधामा ज्यादती नै भएको छ । एक जना विशेषज्ञ डाक्टरले के सेवा सुविधा पाएको छ? उनले ‘एक चिकित्सक एक संस्था’ नीतिलाई कार्यान्वयनमा लैजान चिकित्सकको सेवा र सुविधालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

 

मन्त्री ढकालले २५ वर्षदेखि स्वास्थ्य मन्त्रालयमा दरबन्दी बढाउने कामसमेत नभएको चर्चा गर्दै भने, “नेपालमा १८ हजारभन्दा बढी क्रियाशील डाक्टर छन् । तिनमा एक हजार २८७ जना डाक्टरले सरकारी स्वास्थ्य सेवा धानेका छन् । यो विम्बले पनि सरकारको स्वास्थ्य अवस्था देखाउँछ । यसलाई परिवर्तन गर्न अत्यावश्यक छ । 

 

उनले महामारीविरुद्धको युद्धको कमान्डरका रूपमा रहेका डाक्टर, नर्स र स्वास्थ्यकर्मी को मनोबल कमजोर बनाउन नहुनेसमेत बताए । चिकित्सक तथा स्वास्थ्यकर्मीको उच्च मनोबल, सुरक्षाको प्रत्याभूतिसहित काम गर्ने वातावरणका लागि सरकार दृढ रूपमा अगाडि बढेको पनि मन्त्री ढकालले स्पष्ट गरे । गोरखापत्रबाट