महिनावारी सँगै सरसफाईमा चुनौति र जिम्मेवारी

(स्वस्थ, मस्त अनि व्यस्त रहनु नै प्रत्यक नागरिककाे नैसर्गिक अधिकार हो।)

– महिला को गर्भाशय बाट योनिमार्ग हुँदै सामान्यतया रगत बग्नु लाई महिनावारी भनिन्छ।यो महिलामा हुने एउटा प्राकृतिक प्रक्रिया हो जुन महिलाको पाठेघर ( गर्भाशय) मा भएको अण्डकोष फुटेर हुने गर्दछ भने सामान्यतया २८ दिन भित्र महिनावारी को चक्र परिवर्तन हुन्छ ।

यो साधारणत: १२ देखि १५ बर्ष को उमेर मा सुरु हुन्छ। कसैमा ८ बर्ष देखि नै महिनावारी को लक्षण देखिने गर्दछ जुन साधारण मानिन्छ ।

यो हाम्रो शरीरमा आउने (hormone) को परिवर्तनको कारणले हुने गर्दछ। महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो।

जब माहिला महिनावारी हुन्छिन् त्यो बेला पाठेघरले बनाएको रगतको तह बिस्तारै योनिमार्ग हुँदै रगतका रुपमा बाहिर निस्किन्छ जुन रगत को रंग गाढा रातो हुन्छ भने कहिलेकाही ढिक्का जस्तो भएर जमेको रगतका रुपमा पनि बाहिर निस्किन्छ।

महिनावरीमा हुँदा सारीरिक सरसफाई मा विशेष ध्यान दिन जरूरी हुन्छ। ग्रामीण क्षत्रका महिलाहरु महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने खानपानमा ध्यान नदिने तथा पश्चिमी जिल्लारूमा महिनावारी सम्बन्धी अन्धविश्वा को कारण कतिपय महिलाहरूले ज्यान गुमाउन पुगेको कुरा पनि सुन्न तथा देख्न पाइन्छ यो विडम्बना हो।

महिनावरी सम्बन्धी अन्धविश्वासमा जस्तै महिनावारी हुँदा कुनै पनि कपडाको प्रयोग नगर्ने , कसै कसैले प्रयोग गरेभने पनि सूर्यलाई देखाउनु हुँदैन भनेर अँध्यारो कोठामा सुकाउने र अर्को पटक महिनावारी हुँदा पनि त्यहीँ कपडाको प्रयाेग गर्ने , भित्तामा सहित छुनु हुँदैन भनी छुट्टै एउटा छाप्रो बनाएर बस्ने , गाई भैंसी लाई नछुने तथा महिनावारी हुँदा kitchen मा गएर खाना पकाउँदा आफूहरुले मान्दै आएका देवी देवता रीशाउने र कुनै कुरा पनि सोचेको नपुग्ने भन्ने अन्धविश्वस हरु भएको सुन्न र देख्न पाइन्छ ।

 

महिनावरी लाई धार्मिक तथा सामाजिक रुपमा महिलाले पाप गरेका कारण प्रत्येक महिना रज्वस्वला भएर नछोइ बारेर बस्नु पर्ने, फलफूल तथा गाईको दूध खान नहुने जस्ता किंवदन्ती कुराहरू अझै पनि हामीमाझ जस्ताका तस्तै छन् ।
महिनावरी पुरुष र महिला बीचको भिन्नता छुट्याउने एउटा प्रमुख चिन्ह पनि हो।

एउटी महिला आफ्नो सफल जीवनयापन का लागि आफ्नो जीवनकालमा ३० देखि ४० बर्ष महिनावारी भई जीवन व्यतीत गरिरहेकी हुन्छिन् । यस्तो महत्वपर्ण बस्तु हुँदाहुँदै पनि संसारका धेरै ठाउँमा महिनावारीलाई त्यति महत्ववदिएको पाइँदैन। नेपालको परिप्रेक्ष्यमा भने महिनावारी लाई असाध्यै तल्लो स्थर बाट हेर्ने गरिन्छ। यहाँ चली आयका सामाजिक धार्मिक, रुढीवादी चालचलन तथा अशिक्षितको कारण महिनावारीलाई व्यवस्थापन गर्न नसकिएको देखिन्छ। यिनै अन्धविश्वासका कारण नारकीयजीवन शैली महिनावारी हुँदा (छाउगोठ)मा बिताउनु पर्ने बाध्यता हुन्छन् , जसको कारण कुपोषण, प्रजनन समस्या, मानसिक तनाब , डिप्रेसन,बलात्कार, आत्महत्या छाउगोठ बाट हुने दुर्घटना जस्ता समस्या बाट ग्रस्त भै आफ्नो पढाई र दैनिकी समेत छोडेको कतिपय घटना ताजै देख्न तथा सुन्न समेत पाईन्छ।

हाम्रो समाजमा एउटा छोरी जन्मेर तोते बोली सिक्ने बेला देखि नै महिनावारी बार्ने कुरा बारे सिकाइन्छ त्यसपछि उसलाई डर, लाज र पिडा हुन थाल्दछ साथै उसँग महिनावारी सम्बन्धी नकारात्मक मानसिक विकास हुन्छ।
  विश्वमा २८ में का दिन महिनावारी दिवस मनाइन्छ जसको उद्देश्य भनेको नै महिलाहरुको प्रजनन स्वास्थ्य स्वस्थ राख्नु हो।

यस वर्ष सन् २०२० को महिनावारी दिवसको नारा भने ,”it’s time for action” रहेको छ।

यो पक्कै पनि अब (action) लिने बेला आएको छ हुन पनि हो अहिले नगरे कहिले गर्ने? कहिले सम्म माहिला हरुले यी विभिन्न किसिमका पीडाहरू सहेर बस्न सक्छन्?

एकातिर रक्तश्रावको पीडा अनि अर्को तिर कुरीति र कुसँगतिको पीडा जसरी तसरी सहेकी हुन्छिन्।

महिलाले छाउगोठ र रुढीवादी परम्परा साथै अर्को फरक ढंगले महिनावारीको पीडा भोग्नु परेको छ।

पालमा बनेका भौतिक संरचना र सम्बन्धित निकायले सरकारी वा गैसरकारी कार्यालयमा महिलामैत्री शौचालयको निर्माण गरेका छैनन् जसको कारण साझा शौचालय धाउन परेको देखिनछ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार महिला शौचालय पुरुषका लागि भन्दा डबल हुन पर्छ।

तै पनि धेरै महिला कर्मचारी र छात्रा धेरै भएको संस्थामा शौचालय अपुग छन् भने अर्को तिर शौचालयमा प्रसस्त पानी,हात धुने साबुन, र महिनावारी व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरिएको हुँदैन।

अझ स्कूल र कलेजमा स्यानिटरी प्याड को समेत ब्यबस्था नभएको हुँदा धेरै किशोरीहरु आफ्नो पढाइ र परीक्षा छोड्न बाध्य हुन्छन्।

अर्को तर्फ , छाउपडी कुप्रथा का कारण छुट्टै छाउगोठ ( छुइ गोठ, छाउकुल्ला) बसेको कारण सर्पले टोक्ने , जंगली जनावरहरू को सिकार हुने तथा बलात्कार का घटनाहरू समेत भएको पाईन्छ।

विद्यालय वा क्याम्पस का छात्रा हुन् वा कामकाजी महिला सबैलाई पिरोल्छ महिनावारी ले ।
रज्वशला भए संगै मानसिक तनाव महसुस गर्ने महिलाहरुलाई सरसफाई को समस्या पनि उत्तिकै हुन्छ। ती समस्या हटाउन किशोरीहरुलाई महिनावारी को समयमा अपनाउनु पर्ने सावधानी र सरसफाइको विधि बारे जानकारी गराउनु पर्ने देखिन्छ।

आयश्रोत कमजोर भयका तथा ग्रामीण भेगका महिलाहरूले सेनेटरी प्याड प्रयोग गर्न मुस्किल भएकाले महिलाहरूले घरमै पनि सुतिका कपडा लाई सफा गरी प्याड का रुपमा प्रयोग गर्न सकिन्छ।

महिनावरीमा आउने समस्या र चुनौती:
१- भयका कानुन बारे जानकारी लक्ष्यित वर्ग सम्म नपुग्नु।

२- शौचालय भयका ठाउँमा पानी र सरसफाई को अभाव हुनु।

३- धामी, झाँक्री, पुरोहित लगायतलाई लक्षित गरी कार्यक्रम गर्न नसक्नु।

४- महिनावरीमा विभेद हुनु तथा छाउप्रथाका चुनौती हरु।सेवामा पहुँच नहुनु।

५- सहर मा प्याड प्रयाप्त मात्रामा पाइने भए पनि महंगीको कारण लामो समय सम्म प्रयोग गर्ने र पुराना कपडामा निर्भर हुन बाध्य ।

६- परम्परागत पुराना कपडा लगाउने र सफा गर्ने , त्यसपछि पुनः प्रयोग गर्ने विधिको प्रभाव रहेकोले ।

७- सबै ठाउँमा प्रजनन स्वास्थ तथा महिनावारी सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रमको अभाव भएको।

महिनावारी को बेलामा सरसफाई नहुँदा योनीको वरिपरि घाउ खटिरा आउने, गन्हाउने पानी बग्ने, तल्लो पेट दुख्ने, संक्रमणको कारण ह्युमन प्यापिलोमा भारसले गर्दा १० देखि १२ बर्षमै पाठेघरको मुखमा क्यान्सर हुने सम्म हुने गर्दछ।
नेपालमा करिब १५% महिला हरुको पाठेघरको क्यान्सर कै कारण ज्यान जाने गरेको छ।

महिनावारी हुँदा सरसफाईमा ध्यान दिन पर्ने मूख्य बुँदा हरु:

१- महिनावारी भएको समयमा दिनहुँ सारीरिक सरसफाई संगै आफू बस्ने कोठाको सरसफाईमा ध्यान दिने साथै दिनहुँ नुहाउने ।

२- खाना खानु अघि , प्याड परिवर्तन तथा चर्पीको प्रयोग पछि राम्ररी साबुन पानीले हात धुने ।

३- प्याडको प्रयोग गर्दा स्यानिटरी प्याड कम्तीमा ४-६ घण्टा र कपडा को भए २ घण्टा भन्दा धेरै नराख्ने ।

४- नाइलन तथा पुलिसटरको कपडा प्रयोग नगर्ने ।

५- कमलो सुतीको कपडा राम्ररी धोएर मज्जाले घाम मा सुकाउने जसले गर्दा कीटाणुहरू मर्ने गर्छ।

६- एक पटक प्रयोगमा आएको कपडा दोस्रो पटक नगर्ने

७- पोषणयुक्त खानेकुरा जस्तै माछा मासु अण्डा हरिया सागपात , पहेला फलफूल हरु खाने।

८- मानसिक तनाब बाट मुक्त हुने ।

९- व्यायाम गर्ने ।

१०- सारीरिक सम्बन्ध राख्न परेमा सके सम्म कण्डम को प्रयोग गर्ने ।

११- सारीरिक सम्बन्ध राख्दा पुरुष पार्ट्नर कोण लिंगको सरसफाई पछि मात्र राख्ने।

१२- एच. आई. भी. तथा एड्स जस्ता सरुवा रोग बाट बच्न कण्डम को प्रयोग गर्ने ।

माथि उल्लेखित कुराहरू को पालना गरेउ भने सजिलै सँग भावी दिनमा आउने पाठेघर सम्बन्धी समस्या बाट बच्न सकिन्छ।

 

-रेनु सिंह
स्वामिकर्तिक गाउँपालिका -५ जेरा बाजुरा
हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
BMS अध्यनरत