गणतन्त्रको नाममा लुटतन्त्र भयो !

देशको शासन प्रणाली स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनताद्वारा निर्वाचित प्रतिनिधिहरूबाट सञ्चालित हुने राजनीतिक व्यवस्था’ गणतन्त्र हो भने ठिक त्यस्तै ‘बहुसंख्यक जनताद्वारा छानिएका प्रतिनिधिहरूको सम्मतीअनुसार कुनै देशको शासनसत्ता चल्ने र निति निर्धाण आदि हुने शासन प्रणाली लोकतन्त्र हो । यी शब्द मात्रै फरक सारवस्तु एउटै देखिन्छ । नेपाल वैधानिक रूपमा यिनै दुई शब्दको मेल भएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको १२ औं वर्ष पूरा गरेको छ ।

एउटा पुस्ता नै बितायो भन्दा पनि साहेत फरक नपर्ला ! तर यतिका समय बित्दा पनि आमजनताले के पाए भन्ने प्रश्न बारम्बार उठिरहेको छ । संवैधानिक राजतन्त्रको सट्टा आलंकारिक राष्ट्रपति बाहेक अरू के पायो ? नेताहरूले सिंगापुर स्वीजरल्याण्डका मिठा सपना देखाएर राजतन्त्र बाधक भएको भ्रम छरे । जे जस्ता नारा दिए पनि शासकीय विस्थापन बाहेक कुनै परिवर्तन गर्न सकेनन् । अर्काले खाएको डाहा मानेर आफू र आफ्नैले खानुपर्ने मानसिकता बलियो हुँदै गयो । हिजोका शासकको प्रतिमूर्ती आफूमा देखे । पञ्चायत, राणातन्त्र या राजतन्त्र जस्तै कुनै भिन्नता देखिएन । राजनीतिकर्मिका बोली र व्यवहारले गर्दा बरू राजा नै ठिक थिए भन्ने जनआवाज तिब्र रूपमा बढ्दै गइरहेको छ । जे जसरी हुन्छ दृष्टि सत्तामै केन्द्रीत गरे । भ्रष्ट, बेइमान,अयोग्य, लोभी, घुसखोरीकै बोलवाला भयो । आफूले चाहेका र वरिपरिकै मान्छेलाई मात्रै भरपोषण भयो ।

गणतन्त्र ल्यायौँ भनेदेखिका कुरा नगरौं हालसालै देखिएका घटना मात्रै नियाल्दा पनि गणतन्त्र कस्का लागि रहेछ भन्ने छर्लङ्ग देखिन्छ । गणतन्त्र मजदुरहरूका लागि भएको भए लगडाउनका बेला काठमाण्डौं र देशभरका  शहरबजारमा पानी समेत खान नपाएर भोग र रोगलाई छल्न रूँदै रातदिन पैदल यात्रा गरि कतै सडक कतै जंगलको बाटो छिचोल्दै गाउँघर फर्किनुपर्ने अवस्था आउँदैन थियो । गरिब दु:खिहरूका लागि गणतन्त्र हुँदो हो त सूर्यबहादुर तामाङले  कीर्तिपूरको बिच सडकमा खानै नपाएर भारी बोक्ने नाम्लो हातमै समाती मृत्युवरण गर्नुपर्ने थिएन ।

गणतन्त्रमै राहत पाउन परिचयपत्र नभएकै कारण भोग टार्न नसकि आत्महत्या नै गर्नुपर्ने दिन नआउँदो हो । गणतन्त्र  किसानकै हुँदो हो त मूल्यभन्दा ६०/७० प्रतिशत कममा बिक्री नभएर तरकारी खेतमै कुहिएर मल बन्नु पर्ने थिएन । दूध बाटोमा खन्याउनु पर्ने थिएन । गणतन्त्र हुँदो हो त हारगुहार गरिरहेका देशको आधा अर्थतन्त्र धानिरहेका लाखौं आप्रवासी कामदारलाई समयमै देशमा आउने वातावरण बनाइदो हो । अझ सिमामै रहेका बेला बा/आमाको मुखभेट हुनै नपाई काजकिरिया गर्न समेत घर आउन नपाउनु र अदालतको आदेश पर्खिनु नपर्दो हो । देश संकटको घडीमा गुज्रिरहेका बेला राज्य राजनीतिक खिचातानीमा व्यस्त नहुँदो हो । मानवीय संवेदना नै नभएको जस्तो जाजरकोटमा अकल्पनीय घटना नघट्दो हो । यस्ता कयौं दु:खद घटनाहरू जोडीदा समेत तिनैवटै तहका प्रतिनिधिबाट उदासीनता नदेखिदो हो ।

जनप्रतिनिधि भनिएकाबाट आफ्ना नागरिकलाई ढाडस दिने काम हुँदो हो, सोधिखोजी गरिदो हो । साहेत सिमित र आफूलाई भोट दिएका व्यक्तिलाई मात्रै राहत बितरण नहुँदो हो । संघसंस्थाले वितरण गर्नु भनि दिएको राहत सहयोग आफै नलुकाउँदा हुन् । जोजहाँ जुन प्रतिनिधि छन् तिनले आफ्नै आफन्त र नातागोतालाई मात्रै फोकस नगर्दा हुन् । भए गरेका भ्रष्टाचार अनियमिता कुरामा निश्पक्ष छानबिन हुँदो हो । बिभेदको वातावरण सिर्जना नहुँदो हो । सबै नागरिकले अपनत्वको अनुभव गर्दा हुन् त गणतन्त्रको  जयजयकार हुँदो हो । त्यसैले मजदुर गरिब जनताको संघर्षबाट सयौं सपूतको बलिदानी, रगतको आहालबाट ल्याइएको गणतन्त्र सिमित व्यक्ति र गणतन्त्रको ‘ग’ सुन्नै नचाहेकाहरूको पञ्जामा कैद भएकोले वेवास्ता भएको छ भन्दा अनुपयुक्त नहोला ।

के कति कसरी कुन दृष्टिकोणबाट गणतन्त्र नागरिकका लागि नै हो भनेर मान्ने ? हिजो लेख्न पाइदैन थ्यो, आज दुईचार ओटा कुरा सामाजिक सञ्जालमा खुलस्त लेख्न पाइन्छ,बोल्न पाइन्छ भन्ने आधारमा मात्रै गणतन्त्र मानिदिनु पर्ने हो त  ?
यस्ता तमाम कारणले गर्दा इमान्दार कार्यकर्तालाई पाखा लगाउँदै नेतृत्वकै वरिपरि घुमिरहने, स्तुति गान गरिरहने,असल खराब छुट्याउन नसक्ने नेता र पार्टीको निर्मम समिक्षा गर्न हिचकिचाउने ।

आज्ञा अनुसार कार्यलाई शिरोपर गर्ने प्रवृत्ति, दीर्घकालीन असर पर्ला भन्ने कुराको ज्ञान नभएका, लफङ्गा, हरिलण्ठुहरू राजनीतिमा सामेल हुन थालेपछि र नेतृत्वले पनि त्यस्तै व्यक्तिलाई नजिक राखेपछि आम जनताबाट राजनीति घृणाका रूपमा हेर्न थालिएको छ । हिजो गरिब जनताका झुपडीको चुलोचौकोमा रमाएका ग्रामीण परिवेशमै जन्मिएका नै राणा, राजा महाराज र उनैका भाईभारदारका छोरा नातिका जस्तै जीवनशैली अपनाएर गरिब मजदुरका लागि लडेका थियौं भन्ने कुरा हाँस्यास्पद बन्दै गएको छ ।

आखिर त्यो बेला र अहिलेको गणतन्त्रमा के फरक छ र ? त्यसैले यस्ता प्रवृत्तिका मानसिक स्खलित भएका भ्रष्ट राजनीतिक दलहरूबाट र तिनका असल र खराब छुट्याउन नसक्ने कार्यकर्ताहरू बाट सर्वसाधारण जनताका सरोकारका विषय सहजै सल्टिन्छन् ठान्नु दिवास्वप्न देख्नु मात्र हो । लोकतान्त्रिक गणतन्त्रको दुरुपयोग बाहेक अरू केहि पनि होइन ।

गणतन्त्र त तिनीहरूलाई नै फापेको छ । जो सत्ताका वरिपरि या निकट हुन्छन् । संसद मन्त्रीका आफन्त साथिभाई नातागोता र अझ सबैभन्दा बढी त नेतृत्वका हरिलण्ठु कार्यकर्ताहरूलाई सजिलो भएको छ । नेता संसद मन्त्रीको धाक दिदै सर्वसाधारण निमुखा नागरिकलाई गुमहारमा राखेका हुन्छन् । वास्तविक रूपमा गैरकानूनी कार्य कसैबाट भए गरेका छन् भने ती पार्टीको भातृ/ भगिनी संघसगठनको नेता हुँ भन्दै पेट पाल्न अनेक धन्दा चलाउँदै आएका हरिलण्ठु कार्यकर्ता बाटै भएका छन् । कसैलाई सरूवा गरिदिने त कसैलाई बढुवा गरिदिने नाममा ! कसैलाई सर्टिफिकेट बनाइ दिने त कसैलाई जागीरे लगाइदिने । कसैलाई कुनै ठाउँमा भनसुन गरेर नाम निकाल्दिने बाहानामा । सबै कुरा भनसुनै गरि मात्रै हुने हो भने किन जनताको नाम भजाएर गणतन्त्र आएको छ भन्नू ! हुनेहरूकै लागि हो नहुनेका लागि होइन ।

यस्ता गतिविधिले साँच्चिकै देश र जनताको सेवा गर्न भनि राजनीतिमा होमिएका असल व्यक्तिहरू बिस्तारै ओझेल परेका छन् । कति त राजनीतिबाट आफै साइट लाग्न बाध्य भएका छन् । नेता हौं भन्दै हिड्ने हरिलण्ठूहरूको आयआर्जन गर्ने कुनै ठाउँ देखिदैन कसैले दिन्छ भन्ने पनि आधार देखिदैन । तर पनि सुकिला मुकिला भएर सर्वसाधारण व्यक्तिका रगत चुसेर लप्पनछप्पन गरेर टोपलेर कुरा गर्न सिपालु दरिद्र मानसिकताका भुँडी भरूवाहरू का लागि सुहाएको छ ।

अझ ठूलाठूला ओठे भाषण गर्दै चिच्याउँदै नेता हुँ भन्दै प्रचारप्रसार गरिरहन्छ । राजनीतिको नाममा आँखामा छारो हालेर वितृष्णा जगाउने गरेका छन् । हाल्ने पाखण्डी अगाडी देखा पर्दछन् । “अपुताली परेको सम्पत्ति मस्तिमा उडाइन्छ” भन्ने नेपाली उखान गणतन्त्रमा राजनीति पार्टीका छायामा र सत्ता निकट लफङ्गाहरूका लागि मालामाल भएको छ ।

साच्चिकै लक्षित वर्गमा पुग्नुपर्ने कार्यक्रम /  सेवा सुविधा त नेताकार्यकर्ताका खल्तिबाटै निकालिन्छन् । घुस्याहा कानूनीकर्मी, भुस्याहा राजनितिकर्मी र राज्यको श्रोत साधनबाट उदासीन कर्मचारीको मिलोमतोमा संस्थागत भ्रष्टाचार मौलाउँदै गएको छ । रोग र भोगबाट आहात गणतान्त्रिक व्यवस्थाका नागरिकको थाप्लोमा बिनाकारण ३८ हजार ऋण थोपरिएको छ । नीति र दर्शनबाट अलग एउटा अलंकारका रूपमा मात्रै गणतन्त्र रहेको छ । जनताले ल्याइदिएको गणतन्त्र केही व्यक्तिको मुठ्ठीमा मात्रै सिमित छ । त्यसैले गणतन्त्र आमनागरिकका लागि होइन ! सबैको जय होस्!