संसदमा संविधान संशोधन विधेयक पेश

काठमाडौ,जेठ १८ । प्रतिनिधिसभा बैठकमा संविधान संशोधन–२०७६ (दोस्रो) संशोधन विधेयक पेश गरिएको छ ।

कानुनमन्त्री ,न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

 

लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची-३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

 

मन्त्रिपरिषद् बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो ।

 

 संसदमा कसैले पनि विरोधपत्र दर्ता नगरेकाले विधेयक दर्ता गरिएको हो । शनिबार बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संशोधनकै पक्षमा मतदान गर्ने निर्णय गरेसँगै विधेयक सर्वसहमति दर्ता गरिएको हो ।

 

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । यसमा पहिलो संशोधन सोही वर्ष असोज १० गते भएको थियो।