कोरोना संक्रमण थप २ सय ७८ जनामा पुष्टि,संक्रमितको संख्या २९ सय १२ पुग्यो

   काठमाडौं,जेठ,२३ । आज शुक्रबार नेपालमा २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २९ सय नाघेको छ ।

 

त्यस्तै कर्णाली प्रदेशमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

दैलेखको महाबु गाउँपालिकामा ६४ जना र दुल्लु नगरपालिकामा २७ जनामा कोरोना संक्रमण भएको हो । यसअघि बिहीबार दैलेखमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमा एक सय ८ जना नारायण नगरपालिकाका रहेका थिए ।

 

जुम्लाको चन्दनथान नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जुम्लामा नै गरिएको परीक्षणमा हुम्ला, दोलखा,रामेछाप र गोरखाका एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको पञ्चपुरी गाउँपालिका र जाजरकोटको भेरी नगरपालिकाका एक-एक जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै शुक्रबार कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमित भेटिएका हुन्।