कालिकोटको नरहरिनाथमा युवा उद्द्मीलाई भिडिसेफद्वारा आर्थिक सहयोग

 कालिकोट,जेठ २५।कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा युवा उद्दमीका लागि राहत वितरण गरिएको छ । भिडिसेफ नेपालको आर्थीक सहयोग र हिमचुली कृषि सहकारी संस्था शाखा कुमालगाउँको सहजिकरण र नरहरिनाथ गाउँपालिकाको समन्वयमा गाउँपालिका भित्रका युवा उद्दमी तथा अति जोखिममा रहेका बालवालिकाहरुका लागि नगद राहत वितरण गरिएको छ ।

 

सामाजिक दुरी कायम गर्दै अनौपचारिक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्ट र उपाध्यक्ष मनशोभा बुढाद्वारा सो राहत वितरण गरिएको थियो । गाउँपालिकाका अध्यक्ष बिष्टले विभिन्न समयमा संकट परेको बेला सहयोग गर्दै आएकोमा संस्थालाई धन्यबाद र आगामी दिनमा यस्तै संकटको घडीमा सहयोगको अपेक्षा समेत गरेको बताईएको छ ।

 

गाउँपालिका भित्रका १६ जना युवा तथा अति जोखिममा रहेका ३२ जना बालबालिकाहरुलाई क्रमश युवा उद्दमीहरुका लागि ८५ हजार र बालवालिकाहरुका लागि प्रति व्यक्ति ५ हजारका दरले वर्षरी राहत वितरण गरिएको हो।

संस्थाबाट विभिन्न विषयमा तालिम लिई सहकारीबाट रिण लिई आफ्नो व्यवसाय गर्दै आएका युवा उद्दमीहरु जसलाई विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण व्यवसाय बन्द भएकाहरुका लागि रिण तिर्न सहयोग पुगोस् भनी राहत सहयोग गरिएको भिडिसेफ नेपाल कालिकोटका विकास सुपरिवेक्षक शंकर प्रसाद उपाध्याय जानकारी दिनुभयो ।

 

कोरोनाबाट सचेत गराउनका लागि संस्थाले उत्पादन गरेका युवा क्लव, युवा उद्दमीलाई आआफ्नो टोलटोलमा सचेत रहन प्रचार प्रसारमा खटाईएको, गाउँपालिकालाई संस्थाले स्वास्थ्य सामग्री, राहतमा सहयोग र अति विपन्न बालवालिकाहरुलाई पालिका भरिमा छनाेट गरी राहत दिने योजना गरेको सुपरिवेक्षक उपाध्यायका जानकारी दिनुभयो ।

 

शिक्षा बञ्चितिकरणमा परेका बालवालिकाहरुका लागि शिक्षामा पँहुच निरन्तरता गर्न र बेरोगार युवाहरुलाई जिविकोपार्जन क्षेत्रमा अवसर सिर्जना गरी बाल गरीबीको अन्त्य गर्न सरकारलाई सहयोग पुर्याउन भिडिसेफ नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा युवा सशक्तिकरण बुलगारी परियोजना विगत ५ बर्षदेखी कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका र तिलागुफा नगरपालिकामा सञ्चालित रहदै आएको छ ।