रोकिएका परीक्षाबारे छिट्टै टुंगो लाग्छः शिक्षा मन्त्री पोखरेल

काठमाडौं,जेठ २८ । लकडाउनले गर्दा रोकिएको परीक्षाबारे सरकारले निर्णय गर्न नसके पनि छिट्टै टुंगो लगाइने बताएको छ । हाल विश्वविद्यालयका विभिन्न तहमा पहिलो सेमेस्टर पढाइ सकेकालाई परीक्षा नलिएर भए पनि अर्को सेमेस्टरमा लगेर पढाइ शुरू गर्ने तयारी भइरहेको छ ।

 

यसबाहेक बजेटका बारेमा प्रतिनिधिसभा बैठकमा जारी मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण अवरुद्ध भएका परीक्षाबारे अन्योल छिट्टै टुंगो लगाउन गृहकार्य भइरहेकोे जानकारी दिएका छन् ।

 

रोकिएका परीक्षालाई उपयुक्त समयमा परीक्षा लिएर शैक्षिक क्षति नहुनेगरी सरकारले गृहकार्य गरिरहेको उनको भनाइ छ । ‘परीक्षाबारे विद्यार्थी तथा अभिभावकको अन्योललाई छिट्टै टुंगो लगाउँछौं । कक्षा १०, ११ र १२ तथा विश्व विद्यालयका, सीटीभीटीका परीक्षामा भएका अन्योललाई सरकारले तत्काल स्पष्ट पार्नेछ,’ संसद्मा बोल्दै उनले भने, ‘विद्यालय तह, स्नातक, स्नातकोत्तर सबै तहका अन्तिम सेमेस्टरको परीक्षा केही समय कुरेर भए पनि उपयुक्त समयमा सञ्चालन गर्नेछौं ।’ तर शिक्षा विज्ञहरूले एसईईको सवालमा परीक्षा जरुरी नरहेको भन्दै प्रतिकूल अवस्था आएकाले विद्यालयले लिँदै आएको आन्तरिक मूल्यांकनका आधारमा कार्य गर्न दिएको सुझावलाई केही सांसदले सकारात्मक रूपमा व्याख्या गरे ।

 

यसैगरी लकडाउनले गर्दा विद्यार्थीको शिक्षण सिकाइमा प्रभाव परेको भन्दै उनले अब सरकारले आगामी असार १ गतेदेखि सिकाइ सुनिश्चित गर्न निर्देशिका लागू गरेको बताए । उक्त निर्देशिकाअनुसार अनलाइन, रेडियो, टेलिभिजनमार्फत दूर तथा वैकल्पिक शिक्षालाई प्राथमिकता दिएको छ । सिकाइ स्वअध्ययन गर्न जिम्मेवारी वहन गर्न बजेट व्यवस्थापन गरिएको समेत उनको तर्क छ ।

 

यस्तै, संसद् बैठकमा मन्त्री पोखरेललाई प्रश्न गर्दै प्रतिपक्षी दलका नेता एवं सांसद गगन थापाले बजेटका बारेमा वक्तव्य निकाल्नु परेकोप्रति मन्त्रीलाई व्यङ्ग्य गरे । साथै उनले यसबारे सहानुभूति व्यक्त गर्दै सांसद थापाले कोरोनाका कारण आएको शिक्षामा आमूल सुधार गर्ने मौकाबाट मन्त्री चुकेको बताए ।

 

यसैगरी सांसद प्रेम सुवालले सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्ने जिम्मा निजी विद्यालयलाई दिने प्रस्तावको आपत्ति व्यक्त गर्दै यसबारे जनताको विरोध आएपछि मन्त्रीले आफ्नो सहमति नभएको वक्तव्य जारी गरेकोप्रति कटाक्ष गरे ।
आर्थिक अभियानमा खबर छ ।