यस पटकको एसईई परीक्षा नहुने

काठमाडौं,जेठ २८। कोरोना महामारीका कारण स्थगित भएको कक्षा १० को (एसईई) परीक्षा हुने वा नहुने भन्ने बिषयले बिद्यार्थीहरुलाई झनै अन्योलमा पारेको छ । गत चैतमा स्थगित भएको २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ । मन्त्रिपरिषद्को बैठक अहिले पनि जारी छ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विहानदेखि नै यस बारेमा छलफल गर्न बैठक बसेकाे थियो । बैठकले सो परीक्षा सञ्चालन नगर्ने र सोही व्यवस्थाका लागि निर्णयार्थ मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो।

 

मन्त्रालय स्राेतका अनुसार विद्यालयले नै गर्ने मूल्याङ्कनलाई मान्यता दिइनेछ । विद्यालयहरुले एसईईभन्दा अगाडि सेन्टअपका नामले तयारी परीक्षा लिइसकेका छन् ।मन्त्रालय स्राेतका अनुसार विद्यालयले गरेको मूल्याङ्कनलाई आधार मानेर एसईईको प्रमाणपत्र जारी गर्न मापदण्ड बनाइनेछ।

 

त्यसलाई राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिने छ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्नेछ ।कक्षा ११ र १२ का हकमा मन्त्रालयले पछि निर्णय गर्ने जनाइएको छ ।स्राेतका  अनुसार कक्षा ११ को परीक्षा नलिने सोचमा मन्त्रालय पुगेको छ भने कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरिने मन्त्रालय स्राेतले जनाएकाे छ।