सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं,जेठ २९ । गत आइतवारदेखि सुनचाँदीको मूल्य निर्धारण गर्न शुरू गरेपछि नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । सुनको मूल्य दैनिक नयाँ उचाइमा पुगेको छ ।

 

बुधवार सुनको मूल्य प्रतितोला रू. ८८ हजार ६०० पुगेको छ, जुन हालसम्मकै उच्च हो । यस्तै, चाँदीको मूल्य प्रतितोला ९३५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि हालसम्मकै बढी हो ।

 

कोरोना भाइरस नियन्त्रण गर्न गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै महासंघले उक्त धातुहरूको मूल्य निर्धारण गरेको थिएन । तर, आकस्मिक कारोबारलाई सहज बनाउन महासंघले आइतवारदेखि सुनचाँदीको मूल्य निर्धारण गर्न शुरू गरेको हो । गत चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रहेको थियो । साढे २ महीनापछि अर्थात् जेठ २५ गते सुनको मूल्य निर्धारण गर्दा एकैपटक रू। १० हजार ४०० बढेर मूल्य रू. ८७ हजार ४०० पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।

 

सुनको मूल्य बढ्नुको कारण कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा देखिएको अस्थिरता हो । कोरोनाबाट बच्न अधिकांश मुलुकमा लगाइएको लकडाउनका कारण आर्थिक क्षेत्रमा ह्रास आएपछि लगानीकर्ताले लगानी सुरक्षित गर्न सुन किनेर होल्ड गर्दै आएका छन् । फलस्वरूप अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेको छ ।

 

नेपालमा सुनको मूल्य विदेशी बजारको दरअनुसार नै निर्धारण गरिन्छ । त्यसैअनुसार नेपालमा सुनको भाउ बढेको महासंघअन्तर्गतको सुनचाँदी मूल्य निर्धारण समितिका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । साथै, सरकारले आगामी आवको बजेटमार्पmत सुनको भन्सारदर बढाएपछि पनि सुनको मूल्य बढेको उनको भनाइ छ ।

 

उनले भने, ‘अहिले कोरोना भाइरसका कारण विश्व शेयरबजार तथा आर्थिक क्षेत्रमा अस्थिरता आएको छ । तत्कालै सुधार आउने अवस्था पनि देखिएको छैन । फलस्वरूप सुनको मूल्य अझै प्रभावित हुन सक्छ ।’ नेपालमा आगामी मंसिरभित्र कुनै पनि दिन सुनको मूल्य प्रतितोला ९२ हजारसम्म पुग्ने प्रक्षेपण गरिएको उनको भनाइ छ । ‘विश्व बजारमा सन् २०२० भित्र सुनको मूल्य प्रतिऔंस (२.६६ तोला) १८०० डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ । यदि, त्यो प्रक्षेपण पूरा भयो भने नेपालमा सुनको मूल्य प्रतितोला ९२ हजारसम्म पुग्न सक्छ,’ उनले भने ।

 

कोरोना भाइरसको संकट सकिएपछि सुनको मूल्य प्रतितोला ७५ हजारसम्म झर्न सक्ने उनी बताउँछन् । उनले थप भने, ‘कोरोना भाइरसको संकट कहिलेसम्म रहन्छ भन्ने निश्चित छैन । तर, सामान्य अवस्था आएपछि विश्वबजारमा सुनको मूल्य प्रतिऔंस १५०० डलरसम्म झर्ने अनुमान गरिएको छ । त्यसो गर्दा नेपालमा प्रतितोला ७५ हजारसम्ममा सुनको कारोबार गर्न सकिन्छ ।

 

डलर तिरेर विदेशी बजारबाट सुन आयात गरिछ । त्यसो हुँदा विदेशी बजारमा सुन र डलरको भाउमा आउने परिवर्तनले नेपालमा सुनको मूल्य पनि प्रभावित हुने गर्छ । बुधवार यो समाचार तयार गर्दा सुनको अन्तरराष्ट्रिय मूल्य प्रतिऔंस ९२।६६ तोला० १ हजार ७२४ डलरसम्म पुगेको थियो ।

 

अमेरिका र चीनबीचको व्यापार युद्ध, अमेरिका र इरानबीचको राजनीतिक तनावका कारण चालू आवको शुरूदेखि नै सुनको मूल्य प्रभावित हुँदै आएको छ । गत असारसम्म सुनको मूल्य प्रतितोला ६० हजारको हारहारीमा थियो । तर, साउनदेखि सुनको मूल्य निरन्तर बढ्दै गएपछि नेपाली बजारमा यसको कारोबारमा ह्रास आएको थियो । यसबीचमा सुनको मूल्य ८३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । अहिले कोरोना भाइरसले उब्जाएको परिस्थितिका कारण सुनचाँदीको मूल्यसँगै कारोबार पनि थप प्रभावित भएको व्यवसायीहरू बताउँछन् ।

 

महासंघका पूर्वअध्यक्षसमेत रहेका तेजरत्न शाक्यले अझै कम्तीमा पनि १ वर्षसम्म सुनचाँदी व्यवसायी प्रभावित हुने बताए । ‘कोरोना भाइरसका कारण आम उपभोक्ताको क्रयशक्ति नै कमजोर भएको छ । त्यसमाथि अहिले मूल्य पनि अत्यधिक बढेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा कम्तीमा पनि १ वर्ष सुनचाँदी कारोबार नमज्जाले प्रभावित हुने निश्चित छ ।

 

अहिले कठमाडौं उपत्यकाबाहिर आंशिक रूपमा सुनचाँदी पसल खुल्न थालेका छन् तर कारोबार भने ठप्पजस्तै छ । शाक्यले भने, ‘सुन मानिसको पहिलो प्राथमिकतामा पर्दैन । तसर्थ, हामीले १ वर्षसम्म राम्रो व्यवसाय हुन्छ भनेर आश गरेका छैनौं ।’आर्थिक अभियानमा खबर छ।