कालिकोटमा टिप्पर दुर्घटनाको प्रमुख कारण चालकको लापर्वाही

-कमल कोपिला

कालिकोट,जेठ २९। कालीकाेटमा बुधबार भएकाे दुर्घटनाकाे कारण टिप्पर चालककाे लापर्वाही भएकाे खुलेकाे छ ।

क्वारेन्टिइनमा राख्न लैजाने क्रममा साँघुराे ठाउँमा स्थानीयवासीले चालकसँग विवाद गरेपछि चालक गाडी नै बन्द नगरि हिँडेपछि टिप्पर कर्णाली नदीमा खसेकाे डीएसपी श्यामबाबु अर्यालले बताउनुभयाे । दुर्घटनापछि भागेका चालक रास्कोट नगरपालिका ८ का रंगनाथ धमालालाई प्रहरीले सान्नीगार्डबाट पक्राउ गरेको थियाे ।

टिप्पर कर्णालीमा खस्दा तीन जनाको ज्यान गएको छ । हराइरहेका दुई जनाको खोजी भइरहेको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले जानकारी दिनुभयो ।

भारतबाट घर फर्किएका ३९ जनालाई क्वारेन्टिइनमा पुर्‍याउन लालीघाट बजारबाट रास्कोट नगरपालिकाका लागि छुटेको टिप्पर कर्णाली नदीमा खस्दा घाइते भएका ६ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ।