देश बचाउन देशभक्त क्रान्तिकारीहरु सडकमा उत्रनै पर्छ: कोरोना भाइरस भनेर घरमै बसिरहने हो भने देशै नरहने स्थिति भो: सीपी गजुरेल

काठमाडौं,जेठ ३० ।नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले राष्ट्रघाती ओली सरकारले देश र जनताका विरुद्ध अति गरेको भन्दै अध्यक्ष सीपी गजुरेलले देश बचाउनका लागि सडकमा उत्रिनुपर्ने बताएका छन् । नेता गजुरेलले भने, “कोरोना भाइरस छ भनेर घरमै बसिरहने हो भने देशै रहन्न, देश बचाउन देशभक्त क्रान्तिकारीहरु सडकमा उत्रनै पर्छ । 

राष्ट्रघात र जनघातमा ओली सरकारले अति गरेको भन्दै उनले सरकारको यही अतिका कारण जनताहरु स्वस्फूर्त रुपमा सडकमा उत्रन थालेको दावी गरे । ओली सरकारले लकडाउनलाई राष्ट्राघात र जनघात गर्नका निम्ति प्रयोग गरेको र यसबाट कोरोना महामारी रोकथाम र नियन्त्रण असफल भएको भन्दै नेता गजुरेलले लकडाउन औचित्यहीन बन्दै गएको पनि टिप्पणी गरे ।

अध्यक्ष गजुरेलले भने,अमेरिकी साम्राज्यवादीहरुको योजना आगामी असार पन्ध्रगत्तेभित्र राष्ट्रघाती एमसीसी पास गरिसक्ने छ । लडकडाउन गरेर जनतालाई घरमा थुनेर ओली सरकारले देशको सार्वभौमिकतामाथि गम्भिर आघात पुग्ने काम गरिरहेको छ । कोरोना छ भनेर हामी बाहिर निस्केनौं भने देश अमेरिकाको पञ्जामा परिसकेको हुनेछ । त्यसको मूल्य हामी आफैले चुकाउनु पर्ने हुन्छ । त्यसैले देश बचाउन अब देशभक्त क्रान्तिकारीहरु सडकमा उत्रनै पर्छ ।


नेता पवनमान श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा नेताहरु डा.ओम गुरुङ, अमीर महर्जन, सारदा महत, बसन्त बोगटी, हरिकृष्ण गजुरेल लगायतले विरोध मन्तव्य राखेका थिए।

माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनमा एमसीसी सम्झौता खारेज गर, भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं लगायतका नाराहरु घन्काइएको थियो । कार्यक्रममा सयौंको उपस्थिति रहेको थियो ।