चीन र भारतको सीमामा भिडन्त, तीन भारतीय सैनिक मारिए

 एजेन्सी। चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् ।

 

मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन्।सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।

 

सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो ।तर सोमबार राति गोली हानाहान भएको छ ।

 

भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ।

 

भारतीय सेनाको मुख्यालयले दिएको जानकारी अनुसार अहिले दुवै देशका वरिष्ठ सैन्य अधिकारीहरु यो विषयको विवाद सुल्झाउनका लागि घटनास्थलमा बैठक गरिरहेको बीबीसीले समाचारमा जनाएको छ ।

 

गलवान भ्याली भारत-चीनको लद्दाख सीमा रेखाअन्तर्गतको क्षेत्र हो । पछिल्ला दिनमा यस क्षेत्रमा चिनियाँ सैनिक भारतीय क्षेत्रमा प्रवेश गरेको विषयमा दुई देशबीच तनाव उत्पन्न भएको छ ।