लुकिछिपी आउनेले बढाए उपत्यकामा जोखिम

काठमाडौँ,असार ५  । प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँका दुई, ललितपुरका एक र भक्तपुरका तीन जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँमा फेलापरेका सङ्क्रमितमा कपन बालुवाखानीका ४५ वर्षका पुरुष र तीनकुनेकी ३४ वर्षकी महिला हुन् । उनीहरू केही दिनअघि काठमाडौँ भित्रिएका हुन् । आफन्तको सल्लाहमा कोरोना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो ।

 

त्यस्तै भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका–१६ का २२ वर्षका पुरुषमध्ये कोही बाहिरबाटै आएको जनाइएको छ । ललितपुरमा फेलापरेका सङ्क्रमितका बारेमा भने जानकारी लिने कार्य भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । उपत्यकामा देखिएका छ सङ्क्रमितमध्ये चार जनालाई उपचार गर्न पाटन अस्पताल र दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको छ । उपत्यकामा बाहिरबाट आएका व्यक्तिमा धमाधम कोरोना देखिन थालेपछि थप सतर्क हुन दबाब परेको छ ।

 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बाहिरबाट आउने व्यक्तिका लागि क्वारेन्टाइन व्यवस्थाको जिम्मेवारी स्थानीय तहलाई तोकिएको बताउनुहुन्छ । काठमाडौँ उपत्यका प्रवेश गर्न घरधनीदेखि वडा हँुदै पालिका सम्मको सिफारिस अनिवार्य छ तर लुुकिछिपी र शक्तिको आड लिएर आउनेलाई ती नियमले छुन नसकेको कतिपय सम्बन्धित अधिकारी बताउँछन् ।महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवन श्रेष्ठ प्रहरीले रोके पनि ठूलाबडाले फोन गरेर आउन सिफारिस गर्नाले काठमाडौँमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको बताउनुहुन्छ ।

 

काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिर जाने सवारी साधनको सङ्ख्या दैनिक १० हजारभन्दा बढी रहेको छ । तीमध्ये एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान आवश्यक सिफारिस लिएका धेरै कम छन् । गृह मन्त्रालयबाट जारी ई–पास बोकेर आउनेको सङ्ख्या पनि त्यत्तिकै छ । जसका कारण कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च रहेको सम्बन्धित अधिकारी नै बताउँछन् । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल आफ्नो घर टोल तथा वडामा को आयो आएन भन्ने कुराको सूचना सङ्कलन गर्ने जिम्मेवारी वडा कार्यालयलाई दिएको बताउनुहुन्छ ।गोरखापत्र दैनिकमा खबर ।