सरकारले वैदेशिक रोजगारी खुला गर्ने र विद्यार्थी पनि जान पाउने निर्णय

काठमाडौं,असार,५ । सरकारले काेराेना भाइरस (काेभिड -१९) ले राेकिएकाे वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको हो।सीसीएमसीले अत्यावश्यक काम बाहिर ननिस्कन, निस्किदा मास्क लगाउनु र भौतिक दुरी कायम गर्न पनि अपील गरेको छ।

 

श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइने छ।

बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ।

 

विदेशबाट ल्याइएका शव व्यवस्थनापनको जिम्मा पनि श्रमलाई दिइएको छ । संक्रमितको संख्या बढेसँगै नयाँ स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले पेश गरेको योजना स्वीकृत भएको छ।

 

बैठकले देशभरका क्वारेन्टिन स्थल सुधार गर्ने र र त्यहाँ बसेको दुई साताभित्र परीक्षण गर्ने निर्णय गरेको छ । यसको अनुगमन तथा सहजीकरणको जिम्मा प्रदेश सरकारलाई दिएको छ । यस्तै आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ।