मनसुन सक्रिय, वर्षा जारी रहने

काठमाडौँ,असार ७ । नेपालमा मनसुन सक्रिय बन्दै अझै एक साता वर्षा हुने क्रम जारी रहने भएको छ । मनसुन भित्रिएर देशभर फैलने क्रममा वर्षा सुदूरपश्चिम पुग्न थालेको छ ।

 

त्यहाँदेखि यताका क्षेत्रमा विगत एक सातादेखि नै वर्षा हुने क्रम कायम छ । अझै एक साता यो क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मनसुन देशभर प्रशस्त रूपमा फैलने क्रममा रहेको मौसमविद् शान्ति कँडेलले बताइन । अहिले कर्णाली प्रदेशसम्म पुगेको मनसुनको सक्रियताका कारण देशव्यापी रूपमा बदलीको अवस्था रहेको जनाइएको छ ।

 

हाल भारतको पूर्वी उत्तर प्रदेशको भूूभागमा न्यून चापीय प्रणाली रहेको छ । मनसुन सक्रिय भएसँगै वर्षा हुने क्रम जारी रहँदा देशका ठूला, साना नदीको बहाव बढ्दैछ ।

 

बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलका अनुसार शनिबार बिहानैदेखि नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, गुल्मी, पाल्पा, बागलुङ, प्युठान र आसपासका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।