जात धर्म होइन मानसिकता परिवर्तन गरौँ

रुकुम सोतिको घटनालाई लिएर पक्ष विपक्षमा कुरा चलिरहँदा कतिले जातियताकै कारण ठाने त कतिले ठानेनन्, कतिले नरसंहार भनिरहेका छन् । जेजसरी घटना भयो त्यो क्रुर अमानवीय छ । त्यसै घटनालाई लिएर पूर्वप्रधानमन्त्री बाबुराम भटराईले संसदमा उभिएर ‘बाबुराम कामी लेख्न किन नहुने अब सबैले थर बदल्नु पर्छ’ भनेपछि धेरैले पछिल्लो समय थर फेरिरहेका पनि छन् । अहिले सामाजिक सञ्जालमा केहि नेताकार्यकर्ता, नागरिक अगुवा, अधिकारकर्मी, विशेष गरि केहि दलित अधिकारकर्मीहरु सामाजिक सञ्जाल र पत्रपत्रिकामा जात फेर्नु पर्ने मात्रै होइन हिन्दू धर्म नै बहिस्कार गर्नुपर्छ सम्मका कुरा गरिरहेका छन् । मूल कुरा के हो नबुझेर घटनालाई विषयान्तर गरि आवेशमा आइ एकअर्कामा जातजाति र धर्म संस्कृतिमाथि नै खनिन थालियो भने त्यसले समस्या समाधान होइन थप जटिलता निम्त्याउँने गर्दछ । राष्ट्रको नीति नियम, ऐन कानून, संविधान राज्यका प्रत्येक नागरिकका लागि बराबर हुन्छन् भनेर तर्जुमा गरिएको हुन्छ ।

 

संविधानमा पनि बहूजाति, बहुभाषिक, बहूधार्मीक र बहूसाँस्कृतिक मुलूकमा समाजमा चल्दै आएका परम्परा रितिरिवाज र चलनलाई समेत आत्मसाथ गरिएको हूँन्छ । जहाँसम्म जात र धर्म नभएको कुनै देश नै छैनन् । अपवाद लेख्न नचाहानेले बाहेक सबैको जात र धर्म हुने नै गर्दछ । बरु व्यक्तिले आफुलाई मन पर्ने धर्म अँगाल्दछ र मन पर्ने जात लेख्दै पनि आएकोछ । यो कुनै अनौठो र नौलो कुरा पनि होइन । यहि मान्यतालाई वेवास्ता गर्दै आफुले भनेकै कुरा नै गर्नु पर्दछ भनेर व्यक्तिलाई जबरजस्त गरिन्छ भने त्यसको परिणाम सुखद् नरहेको पूर्वीय होस् या पाश्चात्य जगतका सबै इतिहाँसले देखाएकै छन् ।

सर्वप्रथम व्यक्ति जातभन्दा माथि उठि मानसिक रुपमा बलियो हुन आवश्यकता देखिन्छ  । म यो जातको त्यो सम्प्रदायको सोच्नु भन्दापनि मेरो उद्धेश्य के हो त्यसमा दृढ रहनुपर्छ । अहिलेको समाजले व्यक्तिको जात भन्दापनि कर्म हेरेको हुन्छ । विश्वका सबै प्रतिष्ठित र अनुकरणीय व्यक्तिहरु उच्च मानिएका जातजातिबाटका मात्रै आएका छैनन् । सबै क्षेत्रमा सबैको योगदान उल्लेखनिय रहँदै आएकोछ ।

मुलूक भित्रकै कुरा गर्दा तल्लो जातका भनिएका शिब परियार, यशराज, राजु परियार, निशा देशार, टीका सानु, प्रकाश सपुत, रवि ओड जस्ता व्यक्तिलाई मन नपराउँने साहेदै नहोलान् ।

 ठूला कार्यक्रम होष्ट गर्नुपर्ने ठाउँमा निशा देशारको माग देशमा मात्रै होइन नेपालीले  बिदेशमा समेत माग गर्दछन् । राजनीतिक, सामाजिक, साहित्यिक बिचार गोष्ठीमा विश्वभक्त दुलाल ( आहूती ) को नै माग हुने गर्दछन् । नेपाली साँगितिक बजार एकछत्र राज छ भन्दा पनि अनुपयुक्त नहोला । त्यस्तै राजनीतिक, सामाजिक, व्यापारिक आदि क्षेत्रमा माथिल्लै तहसम्म पुगेका पनि छन् । सोचे जस्तै नभए तापनि त्यसका लागि राज्यले अझ कसरी हुन्छ धेरैभन्दा धेरैको उपस्थिति बढाउने नीति नियम  योजना तर्जुमा गर्नुपर्छ ।

 

कथित उच्च मानिएका धनी बाहुनले गरिब बाहुनलाई, धनी क्षेत्रीले गरिब क्षेत्रीमा पनि विहेवारी चलाएका हुदैनन् । बाहुनले क्षेत्रीमा र क्षेत्रीले बाहूनमा पनि बिहेबारी चलाउँदैनन् । त्यतिमात्रै होइन उपाध्याय बाहुनले जैशी बाहुनमा समेत बिहेबारी चलाएका हुँदैनन् भने भातपनि चलाएको हुँदैन । क्षेत्री क्षेत्रीमा पनि फरक छ, काजी र मतुवाली । बाहुन, क्षेत्री, दशनामी एकअर्का कसैमा पनि घरको सहमतिमा बिहेबारी चलाएको हँुदैन । कतिपय मन पराएर बिहे गरेका जोडीलाई समेत घरकाले स्वीकार गरेका हँुदैनन् । पानी चलेपनि एकअर्कामा चुलो चल्दैन अर्थात् एकअर्कामा भातभान्सा चल्दैन । कतिपय सन्दर्भमा पूजाआजामा समेत रोकावट हुने गर्दछ । अझ पानी चल्ने खस आर्यहरुको मंगोल र मंगोलहरुको खस आर्यसँग पनि बिहेबारी चल्दैन । त्यस्तै अछुत मानिदै आएका विश्वकर्मा र नेपाली बिचमा पनि बिहेबारी मात्रै होइन एकअर्कामा पानी समेत चल्दैन । यिनीहरुले पनि धनीले गरिबसँग बिहेबारी चलाएका हँुदैनन् । सबै जातजातिमा ‘मूलको पानी कुलको सन्तान’ भन्ने उखानले प्रसय पाएकै छ । आखिर नेपाली कुन जातजातिमा विभेद छैन र । मात्रै कथित छुत अछुत भनेर फरकफरक व्यवहार किन गरियो । त्यसको सहि सोधखोज गरि समाजलाई बुझाउँन सक्नुपर्छ । पछिल्लो समयलाई हेर्ने हो भने खासमा जातियताको कुरा धनी र गरिबको खाडलमा मात्रै देखिन्छ । धनी, पढेलेखेको, समाजमा प्रतिष्ठीत अझ युरोप अमेरिकातिर छ भने व्यक्तिको जातले फरक नपारेको समाज अगाडी नै छन् ।

 

कामको आधारमा जातको वर्गीकरण गरेपछि सुरु भएको प्रथा कालान्तरमा भयाभहको रुप लिन पुगेको देखिन्छ । तल्लो वर्गको पेशा अँगालेका व्यक्तिलाई कामकै आधारमा निचको व्यवहार गरिएको देखिन्छ  । राजकाज चलाउने, पढाई लेखाई गर्ने, व्यापार व्यवसाय गर्ने जस्ता काम भन्दा तलका भाँडाकुँडा बनाउने, कपडा सिलाउने, जुत्ता बनाउने जस्ता काम गर्नेलाई तल्लो वर्गमा राखेर विभेद गरेको देखिन आउँछ । धेरै टाढा जानै पर्दैन अहिले पनि त एउटै कार्यालयमा हाकिम र झाडुपुछा लगाउने कर्मचारीहरुलाई हेर्ने र गर्ने व्यबहार कति फरक छ । हाम्रो दोष नै यहि नेर हो, हामी यसरी नै चुकेका हौँ । प्राचीन कालदेखि नै एकअर्कामा सहर्ष स्वीकार गर्न नसकिने जातजातिमा केटाकेटीले राजीखुसीमा बिहेबारी गरेकै थिए । लामो समयपछि घरपरिवारले आफुसँगै नराखे पनि स्वीकार गरेका कुरा गाउँघरमा देखिदै आएका छन् । समयको गतिसँगै बिस्तारै सबै कुरामा धेरै परिवर्तित हुँदै गइरहेका छन् । माननसिक रुपमा जरो गाडेर बसेको जुनसुकै कुरा पनि एकै पटक ह्वात्तै बाहिर प्रकट गर्न सकिदैन विशेष गरि पुरानो पुस्तामा । निकट समयमै पुरानो पुस्ताको अन्त्यसँगै छुवाछुतको पनि अन्त्य अवश्य हुनेछ । तसर्थ मानवीय संवेदनालाई ख्याल नराखेर गरिएका कुराको ऐन कानून अनुसार सजाय त दिनैपर्छ । तर मैले भनेको अहिले नै हुनुपर्छ  । छोएको पानी खानैपर्छ  । पकाएको खाना खानै पर्छ । घरभित्र पस्न पाउनैपर्छ । सबैले जात बदल्नुपर्छ । हिन्दूधर्म परित्याग गर्नुपर्छ । छोरीचेलीसँग बिहेबारी गर्न पाउनैपर्छ । छोरी दिनैपर्छ तव मात्रै समानता हुन्छ जस्ता कुराको अड्डी कसेर जबरजस्त समस्या समाधान भन्दा निहुँ खोज्न लगाउनेहरु प्रति सजक रहनुँ पर्दछ । अमानवीय कार्य सबै समुदायका व्यक्तिबाट हुने गर्दछन्, तिनलाई कानूनी कठघरामा उभ्याउनै पर्दछ ।

 

हिन्दू धार्मिक ग्रन्थहरुलाई नियाल्दा कर्म अनुसार व्यक्तिले जात ग्रहण गरेका देखिन्छन् । तर अधिकारकर्मीको नाममा पश्चिमाबाट परिचालितहरुले मनुले लेखेका कुरा भनेर अपव्याख्या गर्दै समाज भँड्याउने काम गरिरहेका छन् । कुन ठाउँमा के लेखियो भन्दा पनि अन्तिम सत्य के हो भन्ने कुरा हेक्का राख्नु पर्दछ । वास्तवमा ‘जन्मना जायते शुद्र संस्कारात् द्विज उच्यते’ अर्थात् जन्मिदा सबै शुद्र भएरै जन्मन्छन् पछि संस्कारले, कर्मले व्यक्ति ठूलो सानो हुन्छ’ भन्ने कुरालाई नजरअन्दाज गर्नु भनेकै मौलिक परम्परा, संस्कृति, रितिरिवाजको अपव्याख्या र कुतर्क गर्दै अरुको बहकाउमा लागेर आफ्नै मौलिक समाज छिन्नभिन्न पारेर अन्तमा आफै सकिनु पनि हो । जात फेर्दैमा, धर्म बदल्दैमा सबै विभेद र कुरीतिको अन्त्य हुने पनि त होइन । उँचनिच, बिभेद, छुवाछुत त त्यहाँ हुन्छ जहाँ शिक्षा हुदैन, समाज अशिक्षित हुन्छ, गरिब हुन्छ, धनि र गरिब, ठूलो र सानोबिच ठूलो मतमतान्तर हुन्छ । जुन पछि परेको समुदाय हरेक कार्यबाट वञ्चित पारिएको हुन्छ । न धर्मले न राजनीतिले सानो ठूलो भनेको हँुदैन । त्यसलाई सञ्चालन गर्ने सञ्चालकहरुको मानसिकता कस्तो छ त्यसमा भर पर्ने कुरा हो । जातजातिकै नाममा सबैलाई एउटै आँखाले हेर्न थालियो भने समस्याको समाधान कहिल्यै निस्किदैन । वर्तमान युग जातभात, धर्मको होइन । सुशिक्षित प्रतिस्पर्धाको युग हो । जसले छलकपट रहित तवरले अर्कालाई उछिन्न सक्यो त्यहि ठूलो हो । जालझेल होइन सत्य र इमानमा हिँडेको व्यक्तिलाई समाजले नियाली रहेको हुन्छ, उसैलाई मान्ने गर्दछ ।

 

विश्वका कुन मुलूकमा छैन र विभेद ? प्रजातन्त्रको जननी मानिने बेलायतमा प्रोटेस्टेन धर्मावलम्वी मात्रै प्रधानमन्त्री बन्ने गर्दछन् । विश्वकै शिक्षित भनिएको देश अमेरिकामा समेत काला र गोरामा देखिने विभेद छरपस्टै छ । माल्दिब्समा मुस्लिम बाहेक अन्य व्यक्ति नागरिक बन्नै पाउँदैनन् । पाकिस्तानमा हिन्दू जोडीको विहे दर्ता सम्म हँुदैन । प्रधानमन्त्री र राष्ट्रपति तोकेर सिमित धर्मबाट मात्रै हुनुपनि विभेद नै हो । संसारमा कयौँ उदाहरणहरु छन् । यसो भन्दै गर्दा अरुले पनि विभेद गरेका छन् हामीले गर्दा मात्रै देख्ने भन्ने अर्थ लगाइयो भने त्यो झनै ठूलो भुल हुनेछ । भन्न खोजेको कुरा के भने जात बदलेर, धर्म परिवर्तन गरेर विभेदको अन्त्य हुदैन त्यो कुरा व्यक्तिको स्वतन्त्रतालाई छोडिदिउँ । अझ पहिचानको चर्को नारा उरालि रहेको गणतन्त्रमा जात र धर्म नै राखिएन भने बिदेशीले चलखेल गर्ने बाटो पनि त बन्द होला । बहकाउमा नलागेर नेपाली नागरिकले नै विभेदको चुरो बुझि असमानताको अन्त्य गर्नुपर्छ । त्यसका लागि बाहुन, क्षेत्री, ठकुरी, मंगोल, दलित आदि जातजाति भन्दा माथि उठेर पहिले नेपाली भएर हेरौँ, कर्ममा विश्वास गरौँ, मानसिकता बदलौँ । कसरी नेपाली नेपालीलाई लडाएर त्यसको फाइदा लिउँ भन्नेहरु उपयुक्त मौका हेरि बसेका छन् । त्यसैले एकअर्कालाई दोषारोपण गरेर पराइलाई खेल्ने मौका नदिनु नै नेपाल र नेपालीको हितमा हुनेछ ।