निजी क्षेत्रलाई अख्तियार लाग्दैनः प्रधानमन्त्री ओली

काठमाडौं,असार १६।  प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी व्यवसायीलाई अप्ठ्यारो पार्ने काम सरकारले नगर्ने बताएका छन् ।

 

उनले सरकारको नियत उद्योगी व्यवसायीलाई अप्ठ्यारो पार्ने, हतोत्साही बनाउने, असहयोग गर्ने भन्ने नै हुँदैन, यो सरकारले सोच्न सक्ने विषयसमेत नभएको बताए । नेपाल उद्योग परिसङ्घको सत्रौँ वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेका साझा समस्यालाई साझा ढङ्गले नै समाधान गर्नुपर्छ । सरकार उद्यमी व्यवसायीको साथमा छ । सरकारले निजी क्षेत्रलाई अख्तियार लगाउँदैन ।

 

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाएर निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्ने निष्कर्षमा सरकार नपुगेकाले त्यो प्रक्रिया स्थगित गरिएको जानकारी दिए । निजी क्षेत्रलाई नियमन गर्ने थुप्रै निकाय छँदैछन् भन्दै प्रम ओलीले स्पष्ट पारे । अहिले अख्तियार ल्याउनु आवश्यक छैन । यसलाई सरकारले अघि बढाउँदैन ।

 

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्र र सरकारको छुट्टाछुट्टै तर समपूरक भूमिका निर्वाह गरेको टिप्पणी प्रधानमन्त्री ओलीको थियो । निजी क्षेत्र उत्पादन, वितरण, व्यापार, आयात, निर्यात जस्ता गतिविधि गरेर अर्थतन्त्र, राजस्वमा योगदान गर्ने र सरकारले त्यसको उचित नियमन, रेखदेख र निजी क्षेत्रको योगदानलाई सदुपयोग गरेर देश विकासको प्रयासमा लाग्ने उनको भनाइ थियो ।  आजको गोरखापत्रमा समाचार छापिएको छ ।