नागरिकता विधेयक फिर्ता लिन काँग्रेसको माग

काठमाडौँ, असार १७  । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको मङ्गलबार राति सम्पन्न बैठकले सङ्घीय संसद्मा प्रस्तुत नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले त्यसैअनुसार संसद्मा प्रस्तुत हुन सङ्घीय संसदीय दललाई निर्देशनसमेत दिएको छ ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी प्रस्तावित संशोधनमा विवाह गरेको सात वर्ष समयसीमा प्रस्ताव गरिएको छ । काँग्रेसको निर्णयमा भनिएको छ, “नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानुनी व्यवस्था भएको दिनदेखि कायम रहेको राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताविपरीत छ । यस्तो संशोधनको कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलतासमेत उत्पन्न हुन सक्ने प्रबल सम्भावना रहन्छ ।”

यस्तै नयाँ नेतृत्व चयनका लागि आगामी फागुनमा हुने पार्टीको १४औँ महाधिवेशनको वडादेखि प्रदेश सभासम्मको कार्यतालिकामा सामान्य फेरबदल गर्ने प्रस्ताव पेस गरिएको छ । काठमाडौँमा २०७७ फागुन ७ देखि १० सम्म हुने केन्द्रीय महाधिवेशनको कार्यतालिकामा भने कुनै परिवर्तन भएको छैन ।

प्रस्तावित कार्यतालिकाअनुसार साउन मसान्तमा जिल्ला सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउनु पर्नेछ । केन्द्रमा प्राप्त क्रियाशील सदस्यको अन्तिम विवरण तयार गरी पार्टी सभापतिले हस्ताक्षर गरेको सूची निर्वाचन समितिलाई बुझाउने अन्तिम मिति मङ्सिर मसान्तभित्र तोकिएको छ । त्यसपछि निर्वाचन समितिले गाउँ, नगर, वडादेखि क्रमशः अधिवेशन गराउँदै जानेछ ।गोरखापत्र दैनिकमा खबर छ।