ओलीप्रति प्रचण्डको आक्रोश: ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छोड्नुस्’

काठमाडौं,असार १७।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेताहरु आक्रोशित भएका छन् ।

 

मंगलबारको बैठकमा आफ्नो धारणा राखेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीप्रति आक्रोश पोख्नुभयो । उहाँले प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिको आलोचना गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर रहेकाले को सक्रिय भयो भन्ने जानकारी दिनुपर्ने बताउनुभयो ।

 

‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट छोड्नुस्’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले भने– ‘यो कुरा दिल्लीले भनेको होइन, मैले भनेको हो ।’ मंगलबारको बैठकमा बोलेका पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल तथा वामदेव गौतमले आफ्नो अभिव्यक्ति र आरोपलाई प्रस्ट पार्न भन्नुभएको थियो । तीनै नेताको अभिव्यक्ति उस्तै रहेको ती सदस्यले बताए ।

 

ती नेताका अनुसार चारै जना नेताहरु ओलीविरुद्ध आक्रोशित भएका थिए । उनीहरुले सरकारले पनि परिणाम दिन नसकेको बरु विवादित काम गरेको आरोप लगाएका थिए । उनीहरुको बाँकी नेताहरुको मत र तर्क पनि प्रचण्डको जस्तै थियो ।

 

नेता नेपालले भने प्रधानमन्त्रीको अभिव्यक्ति आफ्नो असफलता ढाक्न आएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभयो । उहाँले सरकार ढाल्न कोही लागेको भन्ने प्रधानमन्त्रीलाई लागेको हो भने स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

 

यसैबीच पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले षड्यन्त्र गर्ने राजदूतलाई किन प्रधानमन्त्रीले स्पष्टीकरण सोध्न नसकेको भन्दै प्रश्न गर्नुभएको छ । नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागेको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिनुभएको थियो ।

 

मंगलबार जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले षड्यन्त्र गर्ने राजदूतसँग किन प्रधानमन्त्रीले स्पष्टीकरण नसोधेको भनेर प्रश्न गर्नुभयो ।

 

‘प्रधानमन्त्रीजी कुनै देशको राजदूतले मलाई षड्यन्त्र गरिरहेको छ भन्नुहुन्छ । त्यसो हो भने उहाँ के हेरेर बस्नुभएको छ, राजदूतलाई बोलाएर किन स्पष्टीकरण लिनुहुन्न, राजदूतलाई तुरुन्त देशनिकाला किन गर्नुहुन्न’ –पूर्वप्रम डा. बाबुराम भट्टराईको प्रश्न थियो ।

 

कोरोना महामारीलाई प्रधानमन्त्रीले गम्भीर रूपमा नलिएको भट्टराईको आरोप छ । ‘प्रधानमन्त्रीजी कहिले कुनै पार्टी फुटाउने विधेयक ल्याउनुहुन्छ । कहिले बेसुरसँग प्रतिनिधिसभामा हाच्छ्यूँ गरेर कोरोनालाई उडाइदिनुपर्छ भन्ने बेतुकका कुरा गरेर जग हसाउनुहुन्छ’ –उहाँले भन्नुभयो ।

 

भट्टराईले अंगीकृत नागरिकताको व्यवस्थामा महिला र पुरुषलाई समान अधिकार दिनुपर्ने बताउनुभयो । नागरिकताको एजेन्डा मधेसको मात्र नभएर सिंगो देशको भएको उहाँले बताउनुभयो । दोस्रो दर्जाका नागरिकका रूपमा कसैलाई पनि राख्न नहुने भट्टराईको भनाइ छ ।नेपाल समचारपत्र बाट।