ओली–प्रचण्ड विवादः लेनदेनमा समाधान खोजिदै

काठमाडौं,असार १७ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोडन माग गरेपछि प्रधानमन्त्री ओलीले राजिनामा गर्ला कि नगर्लान भन्ने चासो विषय बन्न पुगेको छ ।

बुधवार बसेको जारी स्थायी कमिटी बैठकमा पाँच जना नेताहरुले आ–आफ्नो धारणा राखेसँगै बैठक स्थगित भयो । नेकपाभित्र विशेषगरी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेनदेनमा कुरा मिल्न नसक्दा यस पटकको स्थायी कमिटी बैठकमा अचानक प्रधानमन्त्रीको राजिनामाको विषयले प्रवेश पायो।

राजिनामा दिनुपर्ने पक्षमा स्थायी कमिटीका सदस्यहरुबीच जनमत बढेपछि प्रधानमन्त्री ओलीले बैकमा फेस गर्ने भन्दा पनि अन्य विकल्पबाट समस्याको समाधान खोजी सुरु गर्नुभएको छ । बुधवार विहान मात्र आफू निकटका स्थायी कमिटिका सदस्य र मन्त्रीहरुसँग समस्या समाधानको विकल्पको बारेमा सुझाव दिनुभएको थियो । दुवै पद छोडन दबाब दिएपनि अहिले प्रचण्ड–नेपाल समुह प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक रोज्न ओलीलाई आग्रह गरिरहेका छन् ।

पार्टी एकता भएको दुई बर्ष वितिसक्दा समेत प्रचण्ड अधिकार विहिन अध्यक्षको रुपमा रहेका छन् । पार्टी एकता हुँदा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने पूर्व सहमति ओलीले वेवास्था गरेपछि प्रचण्डले पाँच बर्ष नै सरकारको नेतृत्व ओलीलाई दिन राजि हुँदै कार्यकारी अध्यक्षको सम्पूर्ण अधिकार खोजेका थिए । तर पार्टी अध्यक्ष ओलीले प्रचण्डलाई अधिकार नदिएपछि स्थायी कमिटी बैठकमा प्रचण्डले ओलीप्रति असन्तुष्टि जनाउदै राजिनामा माग्नुभएको थियो ।

नेकपाका स्थायी कमिटीका सदस्य मणि थापाले भन्नुभयो,‘ ‘अहिले पद बाँडफाँडकै विषय प्रधान भएर आएको छ, प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको नेतृत्व प्रचण्डले गर्ने गरी लेनदेन भएको अवस्थामा अहिले देखिएको विवाद सहजै समाधान हुन्छ ।’ न्युज अफ नेपालबाट ।