कर्णाली करिडोर : हिल्सा ट्र्याक असारभित्र खोलिँदै

फाइल फाेटाे

सिमकोट, असार १८ । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडकखण्डको ट्र्याक खोल्ने कार्य असार मसान्तसम्ममा पूरा हुने भएको छ। सडकको बाँकी खण्डमा विस्फोट, मेसिन र कामदारले एकसाथ तीव्र रूपमा काम अघि बढाइएपछि ट्र्याक खोल्ने कार्य असारमा सकिने भएको हो ।

हिल्सा–सिमकोट सडक आयोजनाको धारापोरीदेखि च्याछरासम्मको खण्डमा बाँकी रहेको २५० मिटर क्षेत्रमा तीव्र रूपमा निर्माण कार्य भइरहेकाले निर्धारित समयमा ट्र्याक खोल्ने कार्य सकिने आयोजनाका योजना प्रमुख शशाङ्क मिश्रले जानकारी दिनुुभयो ।

 
ट्र्याक खोल्न बाँकी रहेको क्षेत्रमा दुईवटा मेसिन, विस्फोटका लागि होल खोप्ने, कामदारले जाली भर्ने तथा जमिन सम्याउने कार्य एकसाथ भइरहेकाले निर्धारित समयमा काम सम्पन्न हुने उहाँले बताउनुभयो । अबको चार÷पाँच दिनमा हिल्सा–सिमकोट खण्डकै निकै कठिन मानिएको च्याछरा भीरमा चट्टान विस्फोट गरी सतह मिलाउने कार्य सम्पन्न गरेर ट्र्याक्टर गुडाइने उहाँले बताउनुभयो ।

अहिले निर्माण कम्पनी र आयोजनाको जनशक्ति पूर्ण रूपमा सो क्षेत्रमा खटिएको छ । साढे दुई सय होल खोपेर केही चट्टानी भाग विस्फोट गर्नुपर्नेमा १२० वटा होल खोपिसकिएको छ । बाँकी काम सम्पन्न भएपछि नेपाली सेनाबाट विस्फोट गराइने उक्त क्षेत्रको निर्माण जिम्मा पाएको जयन्ती जेभीका प्रतिनिधि तेजबहादुर महतले बताउनुभयो ।

 

दुई वर्ष लगाएर च्याछरा भीर छिचोलिएपछि हिल्सा–सिमकोट सडक सम्पन्न हुने आशा पलाएको थियो । उक्त जेभीले धारापोरीबाट च्याछरासम्म चार किलोमिटर सडक निर्माण गर्ने जिम्मा पाएको छ ।

 

बाँकी रहेको साढे दुई सय मिटरमा वर्षा नभएको बेला राति पनि काम भइरहेको उहाँले बताउनुभयो । हिल्सा–सिमकोट सडकको लम्बाइ ९५ किलोमिटर भएकोमा ८० प्रतिशतभन्दा बढी सडक विस्तारको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आव २०५६÷५७ मा तत्कालीन जिल्ला विकास समितिको आन्तरिक स्रोतबाट हिल्सा–सिमकोट सडक आयोजनाको काम सुरु भएको हो ।गोरखापत्र दैनिकमा खबर छ।