ओली- प्रचण्ड टेलिफोन वार्ता के–के भयो सहमति ? : यसरी झुक्याए ओलीले प्रचण्डलाई

काठमाडौं,असार १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको व्यक्तिगत इगोका कारण पार्टी एकता नै संकटमा परेको छ ।

यो संकटबाट पार लगाउन र पार्टी फुटबाट जोगाउने जिम्मा स्थायी समिति बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुलाई दिइएको छ ।

त्यसका लागि उनीहरुले बिहीबार बेलुकाबाटै संवाद गरेर शनिबार ११ बजे बस्ने स्थायी समिति बैठकअघि सहमति निकाल्न भनिएको छ । यदि शनिबार बिहानसम्म पनि नेताहरुबीच सहमति नजुटे पार्टी गम्भीर मोडमा पुग्ने देखिएको छ ।

दुई दिनमा के–के भयो ?

बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा केही मन्त्री र सचिवालयका केही सदस्यसहित छलफल गरे । त्यो छलफलमा ओलीपक्षका ईश्वर पोखरेल, विष्णु पौडेल, विष्णु रिमाल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेल सहभागी थिए भने प्रचण्डपक्षका जनार्दन शर्मा, बर्षमान पुन, मात्रिका यादव, हरिबोल गजुरेल, नारायणकाजी श्रेष्ठ तथा माधव नेपाल समूहका सुरेन्द्र पाण्डे सहभागी थिए । उक्त छलफलमा पार्टीमा देखापरेको समस्या समाधान गर्ने उपायबारे कुराकानी हुँदा प्रधानमन्त्री केपी ओलीले पार्टी निर्देशन मान्नु नै उपयुक्त हुने निष्कर्ष निकालिएको थियो ।

ओली प्रचण्ड टेलिफोन वार्ता

नेताहरुको खुमलटार बैठकअघि दुई अध्यक्ष ओली र प्रचण्डबीच टेलिफोन वार्ता भएको थियो । त्यसक्रममा बिहीबार स्थायी कमिटी बैठक जारी राख्ने र संसद अधिवेसन तत्कालन अन्त्य नगर्ने सहमति भएको थियो । त्यसैअनुसार प्रचण्ड नेताहरुसँगको छलफलपछि पूर्व निर्धारित ११ बजे बस्ने स्थायी समितिको बैठकमा सहभागी हुन बालुवाटार आए ।

 

प्रचण्ड लगायतका नेता बालुवाटार पुग्दा प्रधानमनत्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवासमा गएका थिए । ओली शीतलनिवास किन गए रु नेताहरुबीच खुल्दुली भयो । ओली शीतलनिवासबाट फर्केपछि पनि ११ स्थायी समिति सदस्य बैठकमा सहभागी भएनन् बरु मन्त्रिपरिषद बैठकतर्फ लागे । केही मन्त्रीहरु स्थायी समिति र केही मन्त्री मन्त्रिपरिषद बैठकमा सामेल भए । मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय आयो । यस्तो निर्णय आएको केही बेरमै राष्ट्रपतिले सरकारको उक्त सिफारिस स्वीकृत गरिन् ।

बालुवाटारमा सन्नाटा

पूर्वसहमति विपरित संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय सार्वजनिक भएपछि चलिरहेको स्थायी समिति बैठक स्थगित भयो । बैठक स्थगित गरेर दुई अध्यक्षलगायत शीर्ष नेताहरुबीच किन संसद अधिवेशन अन्त्य गरियो रु भनेर सोधखोज भयो ।

यसबीचमा सरकारले अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउँदैछ भन्ने चर्चा व्यापक भैसकेको थियो । यिनै दुई विषयमा सोधखोज गर्दा ओलीले अधिवेशन अन्त्य गरेर केही फरक पर्दैन भन्ने जवाफ दिएका थिए । नेताहरु ओलीको यो जवाफबाट सन्तुष्ट हुन सकेन्न र थप स्पस्ट हुन चाहे ।

प्रचण्ड पनि शीतलनिवासमा

विकसित घटनाक्रमहरुप्रति सशंकित भएका नेताहरुबीच भएको के हो? र चर्चामा आएका कुरा कति सत्य हुन् भन्ने कुरा बुझ्न अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास जाने निष्कर्षमा पुगे । प्रचण्ड बैठक रोकेर साढे २ बजे बालुवाटारबाट शीतलनिवास पुगेर फर्कँदा साढे तीन बजेको थियो । त्यसपछि प्रचण्डले राष्ट्रपतिसँग भएको कुराकानीबारे पुनः बसेको स्थायी समिति बैठकमा व्रिफिङ गरे । तर ओली त्यसबेला पनि बैठकमा आएनन् । खासगरी राष्ट्रपतिले प्रचण्डसँगको भेटमा अन्य अध्यादेशहरु सिफारिस नगरेको बताएकी थिइन् ।

 

सोही कुरा प्रचण्डले स्थायी समिति सदस्यहरुलाई जानकारी दिँदै अर्को बैठक शनिबार ११ बजे बस्ने निर्णय सुनाए । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एकता गम्भीर संकटमा परेकाले त्यसबाट जोगाउन भोलि सहमति जुटाउन समय दिइएको र पर्सी बिहान ११ बजे बैठक बस्ने बालुवाटारमा जम्मा भएका सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

 

गत आइतबार प्रधानमन्त्रीले आफ्नो सरकार ढाल्न भारत र पार्टीबाट चलखेल भएको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्किएको हो । विवादकै क्रममा ओलीले बिना परामर्श संघीय संसद अधिवेशन अन्य गर्ने निर्णय लिएपछि विवादले थप उग्र रुप लिएको हो ।

झम्सीखेलको साइडइफेक्ट

बुधबार प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा केही स्थायी समिति सदस्यहरुलाई बोलाएर पार्टी अप्ठ्यारोमा परेकाले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

 

बालुवाटारको उक्त बैठकमा धेरैजसो ओली पक्षका नेता थिए भने केही प्रचण्ड पक्षका नेताहरु समेत सहभागी थिए । बिहान ओलीले यस्तो संवाद गरेपछि बेलुका अध्यक्ष प्रचण्डसहितका माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका ३१ जना नेताहरु झम्सीखेलमा बैठक बसे ।

 

उक्त बैठकमा यसअघि स्थायी समितिमा ओलीको राजीनामा मागिएको अवस्थामा कसरी अघि बढ्ने भन्नेमा छलफल केन्द्रीत थियो । त्यो छलफलको एउटै निष्कर्ष थियो ‘प्रधानमन्त्री ओलीले पार्टी निर्णय स्वीकार्नुपर्छ । अर्थात पार्टीले निर्णय गरेमा दुवै पदबाट राजीनामा दिनुपर्छ ।’ झम्सीखेल बैठकपछि अध्यक्ष प्रचण्डले ओली पक्षका नेताहरुलाई बिहीबार बिहान छलफलका लागि आफ्नै निवासमा बोलाइसकेका थिए ।

 

तर बुधबारको झम्सीखेल बैठक र बिहीबारको खुमलटार बैठकबारे ओलीलाई मन परेको थिएन । ती बैठकको निष्कर्ष त झन रुचाउने कुरै भएन । त्यही भएर ओलीले बिहीबार पार्टी नेताहरुलाई समेत थाहा नै नदिई मन्त्रिपरिषद बैठक राखेर संसद अधिवेशन अन्त्य गर्ने निर्णय गराएर तत्कालै राष्ट्रपतिबाट अनुमोदन गराए ।

न सभामुखसँग परामर्श न पार्टीमा

सामान्यतया संसद अधिवेशन बोलाउने र अन्त्य गर्नुपर्दा संसदमा प्रतिनिधित्व गर्ने दल तथा सभामुख र अध्यक्षसँग परामर्श गर्ने गरिन्छ । तर ओलीले बिहीबार यस्तो निर्णय गर्दा भने न सभामुखसँग गरे न दलहरुसँगै । यद्यपी यसको अधिकार भने सरकारमै निहीत छ । सरकारले चाहे संसद अधिवेशन अन्त्यका लागि निर्णय गरेर राष्ट्रपतिकोमा सिफारिस गर्न सक्ने संबैधानिक व्यवस्था रहेको छ । तरपनि ओलीको यसखालको निर्णयको विपक्षी दलसमेतले विरोध गरेको छ।राताेपाटीबाट।