एकैदिन थप ७४० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित सं‌ख्या १५ हजार नाघ्यो,मृतकको संख्या ३२ पुग्यो

काठमाडौं,असार १९ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ ।

 

बितेको २४ घण्टामा ८२३ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ ।यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

 

कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।यो सँगै मृत्यु हुनेको संख्या ३२ पुगेको छ

क्यान्सर र मधुमेहका बिरामीहरुको कोरोना परीक्षण गरिने

सरकारले क्यान्सर, डाइविटिज (मधुमेह) जस्ता बिरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ ।यस्तै अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसियुमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । सरकारी, सामुदायिक र नीजि अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको उनले बताए ।

पीसीआर परीक्षण

शुक्रबार पीसीआर विधिबाट ४ हजार ४ सय ८३ वटा नमुना परीक्षण भएका छन् । आजसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ वटा परीक्षण भएका छन् ।

 

आज सम्म ३ लाख ५ हजार ६ सय २९ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ३५ हजार ४ सय ७२ रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ८४ जना उपचाररत रहेका छन् ।

एकैदिन ८२३ डिस्चार्ज भए

पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट ८२३ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यससँगै डिस्चार्ज हुनेको संख्या ६ हजार १४३ पुगेको छ ।