बन्दाबन्दीमा पर्यटन क्षेत्रले ३४ अर्ब गुमायो: छिट्टै खुलाउने तयारीमा सरकार

काठमाडौं,असार २०। कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको करीब तीन महीनाको अवधिमा पर्यटन तथा हवाई क्षेत्रले रू. ३४ अर्बको नोक्सानी बेहोरेको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्दाबन्दी शुरु भएको गत चैत ११ गतेदेखि अहिलेसम्म प्रति महीना सरदर रू। १० अर्बको कारोबार मूल्यको क्षति अनुमानसहित हालसम्म रू.३४ अर्ब नोक्सानी भएको जानकारी दिएको हो ।

 

आगामी साउन ७ गतेसम्म पुग्दा थप सात अर्ब नोक्सानी बढ्ने पनि मन्त्रालयले आँकलन गरेको छ । नेपाल पर्यटन बोर्डले गरेको हालैको अध्ययनअनुसार पर्यटन तथा हवाइ क्षेत्रमा रू। १० खर्बभन्दा बढी लगानी भएको छ ।

 

कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीको अवधिमा मन्त्रालयद्वारा सम्पादित प्रमुख कार्यहरुबारे जानकारी दिन मन्त्रालयले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि यही असार १५ गतेसम्मको मन्त्रालय मातहतका योजना कार्यक्रमको प्रगति सार्वजनिक गरिएको हो ।

 

पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अध्ययन समिति बनाइएको थियो । पर्यटन तथा हवाइ क्षेत्रमा भएको नोक्सानीको विवरण बनाइ बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयमा पठाइएको र नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाई विवरण उपलब्ध गराइएको मन्त्रालयले जानकारी दिएको छ ।

 

मन्त्रालयका प्रवक्ता रुद्रसिङ तामाङले सरकारको बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि पाँच प्रतिशत ब्याज दरमा कोषबाट ऋण दिने व्यवस्था भएको जानकारी दिए । उनका अनुसार होटलको लागि भ्याट छूटको समयावधि दुई महीनाबाट बढाएर चार महीना पु¥याइएको, हवाईजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारसमक्ष सिफारिस गरिएको छ ।

 

पत्रकार सम्मेलनमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका कारण मन्त्रालय मातहतका विकास आयोजनालाई असर गरेको र यो अवधिमा पर्यटन तथा हवाई क्षेत्रमा नराम्ररी असर पुगेको बताए । उनले विकास आयोजनाको मुख्य प्रगति हुने समयमा बन्दाबन्दीको सामना गर्नु परेकाले उल्लेख्य प्रगति गर्न नसकिएको भए पनि मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको काम भने सन्तोषजनक प्रगति रहेको उल्लेख गरे ।

 

उनले भने, ‘करीब ६ महीना विकास आयोजनाको काम द्रूत गतिमा जानुपर्ने र विकास बजेट खर्च हुने मुख्य समय हामीले गुमायौँ, तर पनि राष्ट्रिय गौरवका आयोजनाको काम बन्दाबन्दीमा पनि निरन्तर भएर केही प्रगति पनि हासिल गरिएको छ ।’ पर्यटनमन्त्री भट्टराईले राष्ट्रिय गौरवका आयोजनाको कामलाई गति दिन मन्त्रालय लागि परेको बताए ।

पर्यटन र हवाई क्षेत्र खुलाउने तयारी

कोभिड १९ महामारीबाट धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तयारी गरिए पनि महामारीको संक्रमण बढ्दै गएकाले अझै अन्यौलता छ । तथापि मन्त्रालय, मातहत निकाय तथा सरोकारवाला व्यवसायीले महामारीबाट बचेर सेवा सञ्चालनका लागि प्रोटोकल बनाएका छन् ।

 

यसै सन्दर्भमा व्यवसायी तथा सरोकारवालाको समन्वयमा छिट्टै पर्यटन क्षेत्र खुलाउने सरकारको तयारी छ । पर्यटनमन्त्री भट्टराईले व्यवसायीले पर्यटन तथा हवाई क्षेत्र चाँडो खुलाउनुपर्‍यो भनेर दबाब दिइरहेकाले सरकारले पनि यो क्षेत्रलाई खुलाउने पूर्वतयारी गरिरहेको जानकारी दिए ।

 

‘हामी ९सरकार० पर्यटन क्षेत्र खुलाउने पूर्वतयारीमा छौँ, पर्यटन व्यवसाय छिटो खोल्न व्यवसायीको दबाव छ, भोली खोलेर सेवाग्राही तथा विदेशी पर्यटक पनि आउने वातावरण हुनुप¥यो, अहिले हरेक पर्यटन क्षेत्रले आआफ्नो प्रोटोकल तयार गरिसकेका छन्, अब क्रमशः पर्यटनलाई चलायमान बनाउन सहजीकरण गर्दै जानुपर्छ भन्ने नै छ, तर कोभिड संक्रमितको संख्या पनि बढिरहेको छ’, उनले भने ।

गौतमबुद्ध विमानस्थल डिसेम्बर भित्रै सञ्चालन हुने

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बर महीनाभित्र निर्माण सम्पन्न भई सञ्चालन हुने भएको छ । पर्यटनमन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल डिसेम्बरमा सञ्चालनमा आउने र व्यावसायिक उडानका लागि त्यसको तीन महीनाभित्र सबै कार्य सकिने तयारी रहेको जानकारी दिए ।

 

हाल यो विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ । बन्दाबन्दीको अवधिमा तीन प्रतिशत भौतिक प्रगति भएको थियो । विमानस्थलको टर्मिनलमा प्राविधिक तथा यान्त्रिक उपकरण आउने क्रम शुरु भएको छ । विमानस्थल निर्माणमा २९ चिनियाँसहित २७५ कामदार निरन्तर परिचालन गरिएका मन्त्रालयले जानकारी दिएको छ । कतिपय प्राविधिक चीन, जापान, युरोपलगायत मुलुकबाट आउनुपर्ने भएकाले विमानस्थलको केही प्राविधिक काम विलम्ब भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

 

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम पनि बन्दाबन्दीमा निरन्तर भएको छ । यस अवधिमा नौ प्रतिशत भौतिक प्रगति भई जम्मा ५९ प्रतिशत प्रगति भएको विमानस्थल आयोजनाले जानकारी दिएको छ ।

 

बजेटबाट पर्यटन क्षेत्रको पुनरुत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न रू। २० करोडको बजेट व्यवस्था गरिएको छ । होटल रेस्टुरा तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यवसाय सुचारु गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ । रासस