राष्ट्रपतिसँगको भेट सकेर प्रधानमन्त्री निवास फर्किए: मन्त्री र राज्यमन्त्री बालुवाटारमा

काठमाडौं,असार २०।  प्रधानमन्त्री केपी ओली शीतल निवासमा राष्ट्रपतिसँग भेट गरेर बालुवाटार फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब डेढ घण्टा छलफल गरेर प्रधानमन्त्री ओली बालुवाटार फर्किएका हुन् ।

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अहिले मन्त्री र राज्यमन्त्रीसँग छलफल गर्दैछन् । प्रधानमन्त्री शीतल निवास जानुअघि नै मन्त्री र राज्यमन्त्रीलाई सात बजे बालुवाटार उपस्थित हुन् निम्ता गरिएको थियो ।

 

प्रधानमन्त्री ओलीले छलफलका लागि मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएका हुन् । नेकपाभित्र आन्तरिक द्वन्द्व चर्को बन्दै गएपछि पछिल्ला दिनमा प्रधानमन्त्री ओली बालुवाटारमा सक्रिय छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतासँगको भेटघाट र छलफललाई तिब्रता दिएका छन् ।

 

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्ष पदबाटै ओलीको राजीनामा मागेपछि नेकपा भित्रको विवाद चर्को बनेको छ । प्रचण्डलाई सचिवालयकै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ६ नेताले साथ दिएका छन् ।

 

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी भित्रको तनाका बीच प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । राष्ट्रपतिसँगको भेट र छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।

 
 असार १८ गते भने प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गरे लगत्तै अर्का अध्यक्ष प्रचण्ड शीतल निवास पुगेका थिए । प्रचण्डले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशको तयारी त भएको होइन भन्दै राष्ट्रपतिसँग जिज्ञासा राखेका थिए । जवाफमा राष्ट्रपति भण्डारीले सामान्य राजनीतिक विषयमा छलफल मात्र भएको बताएकी थिइन् ।

 

आन्तरिक विवाद चर्किदै जाँदा नेकपा नेतृत्वमा एक अर्कोप्रति अविश्वाससमेत बढ्दै गएको देखिन्छ । शनिबार मात्र प्रचण्ड निवासमा सचिवालयका ६ सदस्यले छलफल गरेका थिए।अन्नपूर्णबाट,