सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद पनि रहेन


काठमाडौं,असार २३ । समाजवादी पार्टी नेपालले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेकोछ । उनलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी र सांसद पदबाट हटाउने निर्णय गरेको छ ।

 

समाजवादी पार्टीको आज बसेको बैठकले गिरीलाई पार्टीबाट कारबाही गर्ने र सांसदबाट हटाउने, सोको जानकारी संसदलाई दिने निर्णय गरेको हो । पार्टी महासचिव रामसहायप्रसाद यादव संयोजक रहेको कार्यदलले उनलाई कारबाहीको सिफारिस गरेको थियो । पार्टीले त्यसलाई सदर गरेको छ ।

 

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

 

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

 

पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् । नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिलाई कारबाहीको विषय बनाइएको समाजवादी पार्टीका एक नेताले जानकारी दिए ।