तस्करीमा संलग्न रहेको आरोपमा एकैपटक ११ प्रहरीमाथि अनुसन्धान

विराटनगर, असार २४   । सीमा क्षेत्रमा नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने तस्करीमा संलग्न रहेको आरोपमा मोरङका ११ जना प्रहरी एकैपटक अनुसन्धानमा तानिएका छन् ।

 

समुन्द्रपारबाट मालवस्तु नेपालमा वैधानिक रुपमा आयात गरेर भारततर्फ तस्करी गर्ने कार्यदेखि भारतबाट अवैध रुपमा नेपालमा सामान भित्र्याउने कार्यमा सीमा क्षेत्रको सुरक्षामा खटिने प्रहरीको संलग्नता देखिएपछि उनीहरूमाथि अनुसन्धान सुरु गरिएको हो ।

प्रदेश १ प्रहरी कार्यालयले चारजना र मोरङ प्रहरीले सात जना प्रहरी सदस्यहरूलाई एउटै घटनामा संलग्न आरोपमा अनुसन्धान थालेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । अनुसन्धानको दायरामा आउनेमा जुनियर प्रहरी अधिकृतसहित जवानहरू रहेका छन् ।

 

प्रदेश १ प्रहरी कार्यालयको एउटा टोलीले विराटनगर–१२ बखरी क्षेत्रमा भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको कपडा गत असार १८ गते पक्राउ गरेपछि ड्युटीमा रहेका प्रहरीको बद्नियत खुलेको थियो ।

 

पाँच लाख रुपियाँ मूल्य बराबरको सामान भन्सार छलेर ल्याउँदैगरेको अवस्थामा को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाइकलसहित चालक विराटनगर–१५ निवासी राजा पासवान, विशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अविनाश चौधरीलाई नियन्त्रणमा लिइएको थियो ।

 

त्यो सामान नेपाल भित्र्याउँदा इलाका प्रहरी कार्यालय रानीको छुट्टाछुट्टै टोली मटेर्वा र दरैया नाकाको डयुटीमा रहेको थियो । तस्करी भएर भित्रिएको सामान नियन्त्रणमा लिन नकसेपछि थप फोर्सका लागि मटेर्वा नाकाको टोलीले इलाका प्रहरी कार्यालय रानीको सञ्चारमा रिपोर्ट गरेको थियो ।

 

सञ्चारमा खटिएका प्रहरीले रानीका प्रहरी निरीक्षक दीपक थापालाई जाहेर गर्नुपर्ने सूचना हवल्दार केशव कार्कीलाई जाहेर गरेको खुलेको छ । प्रहरी हवल्दार कार्कीले सञ्चारमा सामान वैध भएको जानकारी गराएपछि मटेर्वा नाकाको टोलीले पिछा गर्न छोडेको र प्रदेश १ प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । त्यसपछि सीमा क्षेत्र मटेर्वा, दरैया र सञ्चारमा खटिने प्रहरीहरू अनुसन्धानमा तानिएका हुन् ।

 

प्रदेश १ प्रहरी कार्यालयले सामान नियन्त्रणमा लिएपछि तत्काल दरैया नाकामा खटिएका चारजनामाथि अनुसन्धान थालेको हो । उनीहरूमाथि भएको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालयले त्यही घटनामा संलग्न थप सात जनामाथि अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

 

उपरीक्षक खड्काका अनुसार अन्तरदेशीय तस्करीको कारोबार रोक्न कठिन भइरहेको अवस्थामा प्रहरी सङ्गठनभित्रैका सदस्यहरूको मिलेमतो हुनसक्ने सम्भावनालाई अध्ययन थालिएको छ । घटनामा संलग्नहरूलाई ड्युटीबाट हटाएर अनुसन्धान सुरु गरिएपछि जिल्ला प्रहरी कार्यालयभित्र कार्यरत कतिपय प्रहरीसमेत संलग्न रहेको खुलेको छ ।

 

प्रहरीले समुन्द्रपारबाट नेपाल भित्र्याएर भारत तस्करी गरिने सामानको तथ्याङ्कसमेत अध्ययन गरेर सीमा क्षेत्रमा कडाइ गर्ने तयारी सुरु गरेको उपरीक्षक खड्काको दाबी छ ।

विराटनगर भन्सार कार्यालयबाट गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा केराउ, सुपारी, सुकमेल र छोकडाको आयात बढेको छ । नेपालमा आयात गरिएको उक्त सामान सीमा क्षेत्रमा भण्डारण गरेर भारतर्फ निकासी हुने गरेको छ ।

 

प्रहरीले समुन्द्रपारबाट नेपालमा खपत हुनेभन्दा धेरै सामान आयात गरेर सीमा क्षेत्रमा भण्डारण गरेको सूचना पाएसँगै तस्करी हुने मुख्य नाकामा छड्के गस्ती बढाउने उपरीक्षक खड्काको भनाइ छ । मोरङको दरैया, मटेरुवा, तरिगामा, खयरबना, नोचा, मायागञ्ज, डाइनियाँ र रङ्गेली तस्करीका मुख्य नाकामा पर्दछन् ।गोरखापत्र दैनिकमा खबर छ।