भक्तपुरमा मास्क प्रयोग नगर्ने ४८ जनालाई कारबाही

भक्तपुर,असार २४ ।भक्तपुर जिल्लामा मास्क प्रयोग नगर्ने ४८ जनालाई नियन्त्रणमा लिएर प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गरि छाडिएको छ ।जिल्लामा आज मास्क प्रयोग नगर्ने ४८ जनालाई नियन्त्रणमा लिएर जरिवाना गरि छाडिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

 

कोरोना संक्रमणबाट बच्नको लागि मास्क प्रयोग गर्न अनुरोध गरिएको भए पनि अटेर गरि मास्क प्रयोग नगरी जिल्लाका चाँगुनारायण,जगाती,बालकोट,ठिमी लगायतका सडक,बजारमा हिँडडुल गर्नेलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो ।पक्राउ परेका सबैलाई संक्रमक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत प्रति व्यक्ति रु एक सय जरिवाना गरिएको हो ।

 

प्रहरीले जिल्लामा कोरोनासंक्रमण फैलिरहेका बेला मास्क प्रयोग नगर्नेहरुमाथि निगरानी गर्न शुरु गरेको हो ।बिनामास्क हिँडिरहेका व्यक्तिलाई मास्क लगाउन प्रहरीले आग्रह गरिरहेको छ भने मास्क नभएका व्यक्तिलाई तत्कालाई पसलबाट किन्न लगाइएको छ।

 

कोरोना संक्रमण नियन्त्रण एवं न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालयबाट प्राप्त निर्देशनानुसार मास्क प्रयोग नगर्नेहरूलाई कारबाही गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेबी थापाले बताउनुभयो ।

 

लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेपछि कोरोना संक्रमणको त्रास बढेको भन्दै प्रसाशनले यस्तो अभियान चलाएको हो ।यस अघि गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

 

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारण सहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ कार्यान्वयन गराउन प्रशासन सकृय भएको हो ।

 

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यस यता सडक ,बजार र कलकारखाना लगायतमा मास्क,सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।नेपाल समचारपत्रबाट।