लमजुङ र पोखरामा पहिरोबाट सात जनाको मृत्यु, सात घाइते

पोखरा, असार २६ । पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना नै घाइते भएका छन् ।
त्यस्तै लमजुङमा अबिरल बर्षाले पहिरो गएर घर पुरिँदा लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

दश जना मध्ये तीन जनाको मृत्यु भएको र सात जना घाइते छन् । उहाँहरुलाई स्थानीय र प्रहरीको सक्रियातामा अस्पताल पु-याएको छ । उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

 

राती बर्थडे मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताउनुभयो । अन्य हराइ रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ । त्यसै गरी पोखरा २५ हेम्जामा घर पछाडिबाट पहिरो आउँदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङमा बिहीबार राति परेको अबिरल बर्षाका कारण पहिरोले घर पुरिँदा बेंसीशहर नगरपालिका १० खाँचे घर भई बेंसीशहर नगरपालिका ७, सातबिसेमा बस्दै आएका अन्दाजी ३०÷३२ बर्षीय दीपक तामाङ, उनको श्रीमति अन्दाजी २५÷२६ बर्षीय बिमाया तामाङ र छोरा अन्दाजी ८÷९ बर्षको छेवाङ तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

 

उहाँका अनुसार बर्षाका कारण बिहीबार राति साँढे १० बजेतिर उक्त घरलाई पहिरोले पुरेको थियो । बिमायाको शव राति १२ः५० बजेतिर फेला परेको थियो । दीपक र छोराको शव २ः४५ बजेतिर संगै फेला परेको र अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरुको उद्दारका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका थिए ।

 

स्थानीयका अनुसार भूपू सैनिक आवासीय माध्यमिक विद्यालयको पछाडि पट्टी रहेको उक्त घरमा कमजोर खालको ब्लकले बारेको र जस्ताले छाएको उक्त घर भिरालो ठाउँमा भएका कारण एक्कासी पहिरो आएर घरको भित्तालाई क्षति पु¥याएको थियो । घरको संरचना कमजोर र भिरालो जग्गामा घर भएकाले पहिरोले क्षति पु¥याउन हुन सक्ने प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार दीपकको आमा र छोरी आफन्तकोमा गएका थिए । दीपकसंगै काम गर्ने ३ जना घरमै रहेपनि पहिरो आउने वित्तिकै थाहा पाएपछि उनीहरुले भागेर बाच्न सफल भएका छन् । पहिरो खस्दै गर्दा भागेका बेंसीशहर नगरपालिका ७ का २६ बर्षीय सन्तबहादुर गुरुङ, बेंसीशहर १० पांगे्रक्युका २३ बर्षीय अनिल गुरुङ, ३३ बर्षीय सुमन गुरुङ घाइते भएका छन् ।

 

उनीहरुको बेंसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक ३ जनाको शव लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।

 

बिहीबार रातिको बाढी पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडक बन्द भएका छन् । खोलामा पानीको बहाव बढ्दा खोलाको पानी खेतमा आएका छन् । खोला नजिकैको घर जोखिममा परेका छन् । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ।